काठमाडौं– देशभर देखिएको खाना पकाउने ग्यासको अभाव र आपूर्ति व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोपबीच उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी छन्।
उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएकी हुन्। यादव प्रधानमन्त्री वालेन्द्र शाहसँगै २०८२ चैत १३ गते उद्योगमन्त्रीमा नियुक्त भएकी थिइन्। मन्त्रिपरिषद् बैठक बस्नुअघि नै उनले राजीनामा बुझाएकी हुन्।
उनको राजीनामा स्वीकृतिसँगै प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक बोलाउने तयारी गरेका छन्। प्रधानमन्त्रीले दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
स्रोतका अनुसार ग्यासको हाहाकार देखिएपछि मन्त्रिपरिषद् बैठकमा उद्योगमन्त्री यादवलाई सचेत गराउने तयारी थियो। तर, बैठकअघि नै उनले राजीनामा बुझाएकी हुन्।
‘ग्यासको हाहाकार देखिएपछि मन्त्रिपरिषद् बैठकमा उहाँलाई सचेत गराउने तयारी थियो। तर उहाँले राजीनामा बुझाउनुभयो,’ स्रोतले भन्यो, ‘उहाँलाई यसअघि पनि प्रधानमन्त्रीले एकपटक सचेत गराइसक्नुभएको थियो। चाहेअनुसारको काम गर्न नसकेपछि उहाँले मार्ग प्रशस्त गर्नुभएको हो। उहाँको राजीनामा स्वीकृत हुन्छ।’एक महिनादेखि ग्यासको हाहाकार
एक महिनाभन्दा बढी समयदेखि देशभर ग्यासको अभाव देखिएको छ। ग्यास नपाउँदा विद्यार्थी, श्रमिक तथा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।
काठमाडौं उपत्यकासहित ठूला सहरका होटल तथा रेस्टुरेन्टसमेत बन्द हुने अवस्थामा पुगेका छन्। ग्यास अभावका कारण उद्योगमन्त्री यादवको चर्को आलोचना भइरहेको थियो।
बुधबार मात्रै सत्तापक्षकै सांसद पारसमणि गोलालले उनको राजीनामा मागेका थिए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुली, सचेतकद्वय क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियार तथा सांसदहरू गणेश कार्की र तोसिसमा कार्कीलगायतले काम गर्न नसक्ने मन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए।
बजारमा ग्यासको अभाव भइरहँदा मन्त्रीले प्रभावकारी अनुगमन गर्न नसकेको र समस्या पहिचान गर्न नसकेको आरोप उनीमाथि लाग्दै आएको थियो। भारतबाट पर्याप्त ग्यास आयात भइरहेको भनिए पनि उपभोक्ताले समयमा ग्यास पाउन सकेका छैनन्।
कतिपय उपभोक्ता तीन दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएर समस्यामा परेका छन्।
‘पाता कस्ने’ अभिव्यक्तिपछि थप विवाद
बुधबार संसदीय समितिमा मन्त्री यादवले ग्यास उद्योगीहरूको ‘पाता कस्नुपर्ने’ भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उक्त अभिव्यक्तिपछि उनी थप विवादमा तानिएकी थिइन्।
उनको अभिव्यक्तिपछि नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बिहीबार वक्तव्य जारी गर्दै गम्भीर आपत्ति जनाएका थिए। सङ्घले मन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने मागसमेत गरेको थियो।
यसअघि मन्त्री यादवले उद्योगीलाई ‘पाता कस्नुपर्ने’ अभिव्यक्ति दिएपछि ग्यास उद्योगीहरूले प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा गुनासो गरेका थिए।
उद्योगीहरूको गुनासोपछि प्रधानमन्त्रीको सचिवालयले उनीहरूलाई बोलाएर स्थिति सामान्य बनाउने प्रयास गरेको स्रोतको भनाइ छ। तर उद्योगीहरूले मन्त्रीको अभिव्यक्ति नसच्याइए ग्यास आपूर्ति नै रोक्नेसम्मको चेतावनी दिएका थिए।
उद्योगीहरूको चेतावनी आएको भोलिपल्टै मन्त्री यादवले पदबाट राजीनामा दिएकी हुन्। उनले आफ्नो अभिव्यक्ति फिर्ता नलिई राजीनामा दिएकी छन्।
यसअघि पनि सचेत गराएका थिए प्रधानमन्त्रीले
मन्त्री गौरीकुमारी यादवलाई यसअघि पनि प्रधानमन्त्री वालेन्द्र शाहले सचेत गराएका थिए।
मन्त्रिपरिषद् बैठक तथा छुट्टै भेटमा प्रधानमन्त्रीले जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्न नसके पद छाडेर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए। सरकारले १०० दिन पूरा गरेकै बेला प्रधानमन्त्रीले यादवलाई सचेत गराएको बताइएको छ। त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उनलाई जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरेका थिए।
सरकारी आपूर्ति प्रणाली प्रभावकारी बनाउन मन्त्रीले पर्याप्त चासो नदिएको विषय यसअघि पनि उठ्दै आएको थियो। बुधबारको संसदीय समिति बैठकमा त सत्तापक्षकै सांसदहरूले उनको राजीनामा मागेका थिए।
त्यसपछि आवेगमा आएर मन्त्री यादवले उद्योगीको ‘पाता कस्ने’ अभिव्यक्ति दिएको आरोप लाग्दै आएको छ। तर अहिले सोही अभिव्यक्ति पनि उनलाई भारी परेको छ।
पाँच महिनामै तेस्रो मन्त्रीले छाडे पद
गत चैत १३ गते वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको पाँच महिनाको अवधिमा तीन जना मन्त्रीले पद छाडिसकेका छन्।
यसअघि गृहमन्त्री सुधन गुरुङले शंकास्पद सम्पत्ति र घरजग्गा जोडेको विषयमा छानबिनमा तानिएपछि गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
उनीमाथि छानबिन गर्न वैशाख ३१ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। समितिले गुरुङलाई क्लिन चिट दिएको अनौपचारिक रूपमा बताइएको छ।
तर भण्डारी नेतृत्वको समितिको प्रतिवेदन प्रधानमन्त्री वालेन्द्र शाहले हालसम्म सार्वजनिक गरेका छैनन्। प्रतिवेदन बुझेकै दिन गत जेठ ३० गते गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गरिएको थियो।
त्यस्तै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदभार सम्हालेको १४ औँ दिनमै अर्थात् २०८२ चैत २६ गते प्रधानमन्त्री शाहले बर्खास्त गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय अनुशासन आयोगको सिफारिसमा उनलाई पदबाट हटाइएको थियो। उनीमाथि श्रीमतीलाई सरकारी नियुक्ति दिएको विषयमा स्पष्टीकरणको पर्याप्त समयसमेत नदिइएको आरोप लागेको थियो।
दीपक र सुधनपछि अब गौरीकुमारी यादव तेस्रो मन्त्रीका रूपमा पदबाट बाहिरिएकी छन्।
ग्यास अभाव नै मुख्य कारण
विगतको तुलनामा बढी ग्यास आपूर्ति भइरहेको भनिए पनि बजारमा अभाव कायमै छ। सरकारी अनुगमन प्रभावकारी नहुँदा समस्या झन् बढेको बताइएको छ।
एउटै व्यक्तिले तीन–चारवटा ग्यास सिलिन्डर खरिद गरेर भण्डारण गर्दा वास्तविक उपभोक्ताले ग्यास नपाउने अवस्था सिर्जना भएको सांसदहरूले बताउँदै आएका छन्।
प्रतिनिधिसभा तथा संसदीय समितिका बैठकमा सत्ता र प्रतिपक्षी सांसदहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको भन्दै मन्त्री तथा सम्बन्धित निकायले निर्मम रूपमा अनुगमन र कारबाही गर्नुपर्ने माग गरेका थिए।
तर उद्योगमन्त्री यादवले अनुगमनमार्फत समस्याको वास्तविक कारण पत्ता लगाउन नसकेको आरोप लागेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका एक शीर्ष नेताले गौरीकुमारी यादवको राजीनामाको मुख्य कारण ग्यास आपूर्ति समस्या नै रहेको बताएका छन्।
‘सभापतिज्यूले पनि सकिँदैन भने मार्ग प्रशस्त गर्नुहोला भनेर सय दिनको कामपछि नै भन्नुभएको हो,’ ती नेताले भने, ‘अहिलेसम्म समस्या उस्तै रहेपछि दशैं, तिहारलगायतका चाडपर्वमा झन् समस्या आउन सक्छ। त्यही कारण उहाँले मार्ग प्रशस्त गर्नुभएको हो।’
देशभर ग्यासको अभाव कायमै रहेका बेला उद्योगमन्त्री यादवको राजीनामाले अब सरकारले आपूर्ति व्यवस्था सहज बनाउन कस्तो कदम चाल्छ भन्ने विषयमा थप चासो बढाएको छ।