भदौ २४ को विध्वंसमा संलग्नमाथि कारबाही नभएसम्म आवाज उठाइरहन्छु : बस्नेत
nepalkuro.com
२४ भदौ २०८३, बुधबार
काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ २४ गते भएको आगजनी तथा विध्वंसका घटनामा संलग्नमाथि कानुनी कारबाही नभएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।
घटनाको एक वर्ष पूरा भएको अवसरमा आफ्नो घरमा लुटपाट तथा आगजनी भइरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै बस्नेतले पीडितले अहिलेसम्म न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही हुन नसकेको बताएका हुन्।
गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा आगजनी भएको उल्लेख गर्दै उनले सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा आफ्नोसहित चार सयभन्दा बढी नागरिकका घर–सम्पत्तिमा क्षति पुर्याइएको बताएका छन्।
“गत वर्ष आजकै दिन सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचना जलाइए। सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय र मेरो लगायत चार सयभन्दा बढी नागरिकका घर–सम्पत्ति खरानी बनाइए,” उनले लेखेका छन्।
घटना भएको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा घटनामा संलग्नमाथि कारबाही हुन नसकेको बस्नेतको भनाइ छ।
“एक वर्ष बित्यो। पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन्। अपराधीमाथि कारबाही भएन। यो घटनाका दोषीलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु,” उनले भनेका छन्।
बस्नेतले भदौ २४ को घटनापछि बनेको सत्ताप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन्। “त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो,” उनले आरोप लगाएका छन्।
भदौ २४ लाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्दै उनले घटनामा संलग्न व्यक्ति वा शक्ति जुनसुकै आवरणमा भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।
“अपराधी जुनसुकै शक्ति र आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आवाज रोकिने छैन,” उनले भनेका छन्।
राष्ट्रमाथि भएको अपराधमा संलग्नलाई उन्मुक्ति दिन नहुनेमा जोड दिँदै बस्नेतले न्याय र जवाफदेहिताको माग गरेका छन्। “न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन,” उनले बताएका छन्।