काठमाडौँमा एलपी ग्यास अभाव हुन नदिन उपत्यका बाहिरै सिलिन्डर भरेर पठाइँदै

nepalkuro.com

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरै सिलिन्डरमा ग्यास भरेर पठाउन थालिएको छ।

ग्यास बोकेका बुलेट वैकल्पिक मार्ग हुँदै समेत उपत्यका प्रवेश गर्न नसकेपछि बाहिरका ग्यास उद्योगमै सिलिन्डर भरेर ट्रकमार्फत काठमाडौँ पठाउने व्यवस्था मिलाइएको हो।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उपत्यका र आसपासका जिल्लामा रहेका १६ वटा उद्योगलाई अन्य उद्योगबाट ग्यास भर्न अनुमति दिएको छ। सोहीअनुसार बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासीका उद्योगसँग समन्वय गरी सिलिन्डर भरेर त्रिभुवन राजपथ हुँदै उपत्यका पठाउन थालिएको हो।

सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीका अनुसार मङ्गलबार धादिङको नौबिसेस्थित श्री ग्यासका १ हजार ५०० सिलिन्डर चितवनको बाबा ग्यासमा भरेर काठमाडौँ पठाइएको छ। त्यस्तै, चितवनको साईबाबा ग्यासले आफ्ना ९०० सिलिन्डर तथा नेपाल ग्यास गण्डकीले बालाजुस्थित नेपाल ग्यासका १ हजार २०० सिलिन्डर भरेर उपत्यका पठाएका छन्।

यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशनको ‘एसटिसी ग्यास’ वीरगञ्जस्थित मनोज ग्यासमा तथा काठमाडौँका एभरेष्ट र सुगम ग्यास हेटौँडाको साहारा ग्यासमा भरेर पठाउने व्यवस्था गरिएको छ।

बनेपाका सगरमाथा, लोकप्रिय, सुपर र तारा ग्यासलगायतका उद्योगले समेत उपत्यका बाहिरका प्लान्टमा सिलिन्डर बोटलिङ गरी आपूर्ति व्यवस्थालाई सहज बनाइरहेका छन्।

भारतबाट हुने ग्यासको आयातमा कमी नआएको र वैकल्पिक माध्यमबाट समेत आपूर्ति भइरहेको भन्दै सञ्चालक कालाखेतीले उपत्यकामा ग्यासको अभाव नहुने बताए।

सङ्घका अनुसार गत महिना भारतबाट हालसम्मकै उच्च करिब ६० हजार २०० मेट्रिक टन एलपी ग्यास आयात भएको थियो। अहिले पनि सोही अनुपातमा आयात भइरहेको जनाइएको छ।

नेपालमा खपत हुने कुल एलपी ग्यासमध्ये करिब ४० प्रतिशत ग्यास काठमाडौँ उपत्यका र आसपासका जिल्लामा मात्र खपत हुने भएकाले सडक अवरोधका कारण आपूर्ति प्रभावित नहोस् भनेर वैकल्पिक व्यवस्थामार्फत ग्यास पठाउन थालिएको हो।

प्रतिक्रिया