सुदूरपश्चिममा गौरा पर्वको रौनक, आज बिरुडा धोएर ‘न्यालाको गौरा’ मनाइँदै

nepalkuro.com

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख मौलिक तथा नारीप्रधान पर्व गौराको आज दोस्रो दिन बिरुडा धोएर ‘न्यालाको गौरा’ मनाइँदैछ। मङ्गलबारदेखि विधिवत् रूपमा सुरु भएको गौरा पर्वमा आज व्रतालु महिलाले बिरुडा धोएर विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दैछन्।

गौरा पर्वका जानकार निर्मला जोशीका अनुसार बिरुडा पञ्चमीको पहिलो दिन तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिङ्गार गरी त्यसमा पाँच प्रकारका अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाउने चलन छ। बिरुडा भिजाउँदा महिलाहरूले माङ्गलिक फाग तथा सगुन गाउने गर्छन्।

गौरा पर्वको दोस्रो दिन भिजाइएका बिरुडालाई पवित्र धारा, मुहान वा न्वालोमा लगेर माङ्गलिक फाग तथा सगुनका साथ सामूहिक रूपमा धोइन्छ।

“भिजाएका बिरुडा नजिकैको पवित्र धारा, मुहान, न्वालोमा लगेर सामूहिक रूपमा धोइन्छ,” जोशीले भने, “त्यही बिरुडालाई सप्तमीका दिन गौरा भित्र्याउँदा प्रसादका रूपमा चढाइन्छ। अष्टमीका दिन त्यही बिरुडाले गौरा र महेश्वरको जन्मदेखि विवाहसम्मको लीलालाई फाग र गीतमार्फत पूजा आराधना गरिन्छ।”

सप्तमीका दिन धानको खेतबाट साउँ, तिल, अपामार्गलगायतका वनस्पति सङ्कलन गरी सञ्जा गौरा तयार गर्ने चलन रहेको उनले बताए। गौरादेवीको पूजाआजामा समेत बिरुडाको प्रयोग गरिन्छ र यसलाई गौरीको प्रसादका रूपमा लिने गरिन्छ।

उनका अनुसार पुत्रदा एकादशीको व्रतपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुन्छ। गौरा पर्वको व्रत उपासनाका लागि पुत्रदा एकादशीको व्रतलाई महत्वपूर्ण मानिन्छ। महिलाहरूले बिरुडा पञ्चमीको दिन तामाको भाँडामा पाँच प्रकारका अन्न भिजाउने गर्छन्।

सप्तमीमा गौरा भित्र्याइन्छ, अष्टमीमा देउडाको रौनक

व्रतालु राजेश्वरी अवस्थीका अनुसार सप्तमीका दिन गौराको प्रतिमा बनाई ‘गौराघर’मा भित्र्याउने गरिन्छ।

“गौरा हाम्रो सुदूरपश्चिमका नारीहरूको ठूलो पर्व हो,” उनले भनिन्, “जसरी पुरुषले जनै धारण गर्छन्, नारीले पनि यज्ञोपवीतका रूपमा यस पर्वमा दुबधागो लगाउने चलन छ।”

श्रीमान् तथा परिवारका सदस्यको सुख, शान्ति, निरोगी जीवन र दीर्घायुको कामना गर्दै महिलाहरू गौरा पर्वको व्रत बस्ने गर्छन्।

अष्टमी अर्थात् गौराष्टमीका दिन विशेष पूजाआजा गरी मङ्गलगानका साथ गौरा नचाउने गरिन्छ। गौरालाई गौराघरको आँगनमा राखेर विभिन्न अठबाली गीत, चैत, धमारी तथा राजा–महाराजाका वीरगाथा प्रस्तुत गर्दै नचाउने परम्परा छ। अष्टमीदेखि विभिन्न स्थानमा देउडा खेल्ने प्रचलनसमेत रहेको छ।

यस पर्वमा गौरा अर्थात् पार्वती र महेश्वर अर्थात् महादेवको पूजा गरिन्छ। महिलाहरू उपवास बसेर स्नान गरी शुद्ध तथा नयाँ वस्त्र लगाएर शिव–पार्वतीको पूजाआजा गर्ने गर्छन्।

शिव–पार्वतीको आराधनासँग जोडिएको पर्व

लोकसंस्कृतिका जानकार कविराज भट्टका अनुसार प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्री तथा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरूपा पार्वतीलाई गौरा देवीका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ।

“यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल वा कृष्ण दुवै पक्षमा मनाइन्छ,” भट्टले भने, “शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा र कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ।”

दुवै प्रकारका गौरालाई पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्व दिने गरिएको उनले बताए।

गौरा पर्व डोटी समुदायमा परम्परादेखि चलिआएको मौलिक नारीप्रधान पर्व हो। सुदूरपश्चिममा यस पर्वलाई दसैँभन्दा पनि बढी महत्व दिएर प्राचीनकालदेखि मनाउने गरिएको पाइन्छ।

स्कन्द पुराणको मानसखण्डमा उल्लेख भएअनुसार हिमालयकी छोरी गौरीले महादेवलाई पति पाउन १२ वर्षसम्म कठोर तपस्या गरेपछि महादेव प्रसन्न भई दर्शन दिएको र गौरीसँग विवाह गरेको प्रसङ्गसँग गौरा पर्व जोडिएको विश्वास छ। त्यसैको सम्झनामा महिलाहरूले गौरी र महादेवको पूजा आराधना गरी मनोकाङ्क्षा पूरा होस् भन्ने कामनासहित यो पर्व मनाउने गरेको भट्टले बताए।

गौरासँगै देउडाको पनि रौनक

गौरा पर्वको अवसरमा सुदूरपश्चिममा देउडा खेलको विशेष रौनक देखिन्छ। महिलाहरू व्रत तथा पूजाआजामा सहभागी हुने गर्छन् भने पुरुषहरूले लोकगीत, देउडा, डुस्को तथा धमारीलगायतका सांस्कृतिक कार्यक्रममार्फत पर्व मनाउने गर्छन्।

पछिल्लो समय गौरा पर्व सुदूरपश्चिममा मात्र सीमित नरही काठमाडौँ तथा विदेशमा रहेका सुदूरपश्चिमेली समुदायले समेत सामूहिक रूपमा धुमधामका साथ मनाउन थालेका छन्। यसले सुदूरपश्चिमको मौलिक संस्कृति, परम्परा र लोकसङ्गीतलाई देश–विदेशमा समेत विस्तार गरिरहेको छ।

प्रतिक्रिया