कर्णालीमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभियान तीव्र
nepalkuro.com
२४ भदौ २०८३, बुधबार
कर्णाली – कर्णाली प्रदेश सरकारले मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न थालेको छ। पछिल्लो समय समाजमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएको पाइएपछि प्रदेशको सामाजिक विकास मन्त्रालयले यसको पहिचान, उपचार, नियन्त्रण तथा न्यूनीकरणमा जोड दिएको हो।
मन्त्रालयका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या ग्रामीण क्षेत्रको तुलनामा सहरी क्षेत्रमा बढी देखिएको छ। समस्या न्यूनीकरण तथा रोकथामका लागि सात प्रदेशमध्ये कर्णालीले सबैभन्दा पहिले मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति तथा कार्ययोजना २०७९–२०८७ निर्माण गरेको जनाएको छ।
चालु आर्थिक वर्ष २०८३/८४ को भदौदेखि नै मन्त्रालयले मानसिक स्वास्थ्य सुदृढीकरणका लागि शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा जनप्रतिनिधिलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार कर्णाली प्रदेशको कुल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ रहेको छ। त्यसमध्ये करिब ११ प्रतिशत अर्थात् एक लाख ८५ हजार ७२५ जनामा मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको मन्त्रालयले जनाएको छ।
समयमै पहिचान गरी समस्या थप बढ्न नदिन सचेतना तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयका मानसिक स्वास्थ्य सम्पर्क व्यक्ति खगेन्द्रप्रकाश गैरेले जानकारी दिए।
“कर्णालीका करिब ३० हजार मानिसले अहिले पनि मानसिक रोगको औषधि लिइरहेका छन्। यो समस्या अझै एक लाख ५५ हजारमा देखिन्छ,” उनले भने, “समयमै पहिचान गरी समस्या वृद्धि हुन नदिन कर्णालीका दशवटै जिल्लामा शिक्षकसहित सरोकारवालाका लागि मानसिक स्वास्थ्यसम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम विस्तार गरेका छौँ।”