नेपाललाई चीनको निरन्तर सहयोग : आपत्कालीन जलविज्ञान सूचना आदानप्रदान गर्ने प्रतिबद्धता

nepalkuro.com

काठमाडौँ– चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद् राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सूचना आदानप्रदान गरिने नेपालस्थित चिनियाँ दूतावासले जनाएको हो।

चीनले नेपालसँग नदीमा बनेका अवरोध, हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम तथा अन्य जलविज्ञानसम्बन्धी सूचनासमेत आदानप्रदान गर्ने जनाएको छ।

चीनको मौसमसम्बन्धी निकायले चीन–नेपाल केरुङ–रसुवा सीमानाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्वचेतावनी तथा मौसमको प्रभावसम्बन्धी सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।

विपद् आएलगत्तै चिनियाँ प्रशासनले नेपालको मौसम विभागसँग भिडियोमार्फत मौसमसम्बन्धी परामर्शसमेत गरेको थियो। नेपालको उद्धार तथा राहत कार्यमा आवश्यक मौसमसम्बन्धी सूचना तथा प्राविधिक सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको चीनले जनाएको छ।

विपद्को जोखिम न्यूनीकरण, पूर्वचेतावनी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल–चीनबीच जलविज्ञान तथा मौसमसम्बन्धी सूचना आदानप्रदानलाई निरन्तरता दिइने भएको छ।

प्रतिक्रिया