नुवाकोटमा बाढीपीडितका लागि १३ होल्डिङ सेन्टर, नदीपारिका क्षेत्रमा राहत पुर्‍याउन चुनौती

nepalkuro.com

नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई लक्षित गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले होल्डिङ सेन्टरमार्फत राहत वितरणलाई तीव्रता दिएको छ। विभिन्न दाता तथा संस्थाबाट प्राप्त राहत सामग्री एकद्वार प्रणालीमार्फत सङ्कलन गरी आवश्यकता र प्रभावितको अवस्थाका आधारमा सम्बन्धित होल्डिङ सेन्टरमा पठाउने व्यवस्था मिलाइएको छ।

जिल्लाभर १३ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन्। विदुर नगरपालिकामा नौ, किस्पाङ गाउँपालिकामा दुई तथा सूर्यगढी गाउँपालिका र बेलकोटगढी नगरपालिकामा एक–एक वटा होल्डिङ सेन्टर स्थापना गरिएको छ। यहाँ प्रभावितलाई खाना, बसोबास, स्वास्थ्य परीक्षण तथा परिवारसँग पुनर्मिलन गराउने व्यवस्था मिलाइएको छ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार दाता तथा इच्छुक व्यक्तिबाट प्राप्त राहत सामग्री समितिमार्फत एकीकृत रूपमा सङ्कलन गरी आवश्यकताका आधारमा वितरण भइरहेको छ। सवारीसाधन पुग्न नसक्ने ठाउँमा भने हेलिकप्टरमार्फत राहत पठाउने गरिएको छ।

तर सबै क्षेत्रमा राहत समान रूपमा पुर्‍याउन भने चुनौती देखिएको छ। विशेषगरी त्रिशूली नदीपारिका बस्तीमा पुल तथा सडक संरचना बगाएपछि राहत सामग्री ढुवानी कठिन बनेको छ। केही संस्थाले ड्रोनमार्फत समेत राहत सामग्री पुर्‍याउन थालेका छन् भने कतिपय स्थानमा हेलिकप्टरको सहारा लिनुपर्ने अवस्था छ।

बाढीबाट विदुरको बेत्रावती, त्रिशूली, ढुङ्गे, सिमचौर र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन्। किस्पाङका शान्तिबजार, नयाँ पुल र मैलुङ तथा बेलकोटगढीका ठूलो खोला, बुधसिंघाट, रातमाटे, कोलचौर, केउरेनी र कोल्पुटार क्षेत्र पनि प्रभावित छन्। प्रभावितमध्ये धेरै परिवार अहिले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका छन्।

राहत वितरणमा एकद्वार प्रणाली अपनाउने भनिए पनि सहज पहुँच भएका केन्द्रमा दाता स्वयं पुगेर सामग्री वितरण गर्ने क्रम बढ्दा कतिपय होल्डिङ सेन्टरमा बढी र दुर्गम क्षेत्रमा कम सामग्री पुग्ने अवस्था देखिएको छ। विपद् व्यवस्थापन समितिले सबै सामग्री एकीकृत प्रणालीमार्फत वितरण गर्न आग्रह गरेको छ।

हाल प्राप्त राहतमा चामल, दाल, चाउचाउ, बिस्कुटलगायत खाद्य सामग्रीको मात्रा बढी छ। त्यसको तुलनामा लत्ताकपडा भने कम प्राप्त भएको समितिले जनाएको छ।

यसैबीच, बाढीका कारण तादी र कोल्पुखोलाका पुल बग्दा विद्यालय जाने बालबालिकासमेत प्रभावित भएका छन्। नदी वारिपारि विद्यालय तथा घर भएका कतिपय बालबालिका पुल बगेसँगै परिवारसँग सम्पर्कविहीन हुन पुगेका छन्। स्थानीयले नदीपारिका बस्तीलाई राहत वितरणमा प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।

बाढीपीडितका लागि होल्डिङ सेन्टरमै स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ। शारीरिक उपचारसँगै विपद्का कारण प्रभावित नागरिकको मानसिक अवस्थालाई समेत ध्यानमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको स्थानीय तहले जनाएको छ।

यसैबीच नुवाकोटमा बाढीपछि मृत्यु तथा बेपत्ताको यकिन विवरण अझै सङ्कलन हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालयमा शनिबारसम्म बाढीमा परी बेपत्ता भएको भन्दै ८२१ जनासम्बन्धी निवेदन परेको प्रहरीले जनाएको छ। पहिचान हुन नसकेका शवको व्यवस्थापन र सम्भावित थप शवको व्यवस्थापनबारे पनि प्रशासनले छलफल अघि बढाएको छ।

बाढीबाट सडक, पुल, घर तथा अन्य संरचनामा ठूलो क्षति पुगेपछि तत्काल राहत वितरणसँगै उद्धार, बेपत्ताको खोजी र क्षतिग्रस्त पूर्वाधार पुनः सञ्चालनलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया