भोटेकोशी बाढीमा बेपत्ता इन्जिनियर सिंहको १३ दिनसम्म अत्तोपत्तो छैन
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
जनकपुरधाम– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर अजयप्रसाद सिंहको १३ दिन बितिसक्दा पनि अवस्था अज्ञात रहेपछि परिवारमा चिन्ता बढेको छ ।
रसुवास्थित युटी २१६ मेगावाट डुसन पावर हाउसमा कार्यरत इन्जिनियर सिंह गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका हुन् । उनको खोजी तथा उद्धारमा थप प्रभावकारी पहल गर्न परिवारले सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
जनकपुरधाम निवासी सिंहकी श्रीमती पूजा साहले स्थलगत रूपमा ड्रोन र प्रभावकारी उद्धार टोली परिचालन गरी श्रीमान्को खोजी गर्न सरकारसँग भावुक अपिल गरेकी छन् ।
श्रीमान् जीवितै र सकुशल रहेको विश्वासमा रहेकी पूजाले सामाजिक सञ्जालमार्फत भावुक सन्देश लेख्दै भनेकी छन्, “तिमी जहाँ छौ, जस्तै छौ, मलाई खबर गर । म आफैँ आउँछु तिमीलाई लिन । बस्, एकपटक तिम्रो आवाज सुन्न र तिमीलाई देख्न पाऊँ ।”
उनले सानी छोरीसमेत बुबाको भिडियो कल र आवाजको पर्खाइमा रहेको बताएकी छन् ।
सिंहको खोजीका लागि परिवारले मैलुङ बजार, क्याम्प आसपास, ठाडेगाउँ, राम्चे, ग्राङ, कालिकास्थान, धुन्चे र मैलुङडाँडालगायतका जंगल तथा पहाडी क्षेत्रमा ड्रोन र पर्याप्त जनशक्ति परिचालन गर्न माग गरेको छ ।
सरकार तथा सम्बन्धित निकायबाट आश्वासन पाए पनि समयमा उद्धार टोली घटनास्थलमा नपुगेको परिवारको गुनासो छ । पूजाले दिनभर कार्यालय धाउँदा–धाउँदै आफूहरू थाकिसकेको बताउँदै “हामीलाई आश्वासन होइन, तत्काल उद्धार चाहिएको छ” भनेकी छन् ।
मधेसका १८० जना अझै सम्पर्कविहीन
यसैबीच, भोटेकोशी बाढीमा परेर मधेस प्रदेशका मात्रै २२० जना हराएकामा अहिलेसम्म ३८ जना सम्पर्कमा आएका छन् ।
मधेस प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालका अनुसार बेपत्तामध्ये दुई जनाको शव फेला परेको छ भने १८० जना अझै सम्पर्कविहीन छन् । प्रहरीले बेपत्ताको खोजी तथा अवस्थाबारे आवश्यक समन्वय गरिरहेको जनाएको छ ।