विदेशी सेनालाई पहिलोपटक हराएको ऐतिहासिक गढी, आज पर्यटकको रोजाइमा मकवानपुरगढी
nepalkuro.com
८ भदौ २०८३, सोमबार
बागमती – नेपालको एकीकरणअघिको इतिहास, सेनवंशी राजाहरूको विरासत र विदेशी सेनामाथि गोर्खाली फौजले हासिल गरेको ऐतिहासिक विजयको साक्षी मकवानपुरगढी दरबार पछिल्लो समय महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
मकवानपुरगढी गाउँपालिका–२ मा रहेको यो ऐतिहासिक गढी हेटौँडाबाट करिब १६ किलोमिटर पूर्वमा कान्ति राजपथसँगै समुद्री सतहबाट एक हजार १७ मिटर उचाइमा अवस्थित छ। करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको गढीले सेनवंशी शासनकालको इतिहास, तत्कालीन वास्तुकला र राज्य सुरक्षाका उपायलाई आज पनि जीवन्त बनाइरहेको छ।
इतिहासअनुसार सेनवंशी राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेका थिए। मकवानपुर उनका कान्छा छोरा लुहाङको भागमा परेको थियो। राज्य सुरक्षाका लागि लुहाङले १६२२ सालमा मकवानपुरगढी निर्माण गरेको इतिहास पाइन्छ।
नेपालका विभिन्न गढीमध्ये सबैभन्दा ठूलो मानिने यस गढीको सुरक्षाका लागि बनाइएको करिब २५ फिट अग्लो र सात फिट चौडाइको पर्खाल आज पनि तत्कालीन कला, वास्तुकला र सैन्य रणनीतिको प्रमाणका रूपमा रहेको छ।
मुगल सेनामाथिको ऐतिहासिक विजय
मकवानपुरगढीको इतिहास नेपालको एकीकरण अभियानसँग पनि जोडिएको छ। मकवानपुर राज्यको पराजयपछि तत्कालीन नवाब मिरकासिमले गुरगिल खाँको नेतृत्वमा करिब दुई हजार ५०० विदेशी सैनिकलाई गोर्खाली सेनाविरुद्ध पठाएका थिए।
सन् १७६३ जनवरी २० मा भएको युद्धमा गोर्खाली सेनापति वंशराज पाण्डे, केहरसिंह बस्नेत र रामकृष्ण कुँवरको नेतृत्वमा रहेको फौजले विदेशी सेनालाई पराजित गरी भगाएको थियो। नेपाली भूमिमा विदेशी सेनालाई पराजित गरिएको पहिलो युद्धका रूपमा यसलाई विशेष महत्वका साथ लिइन्छ।
सोही ऐतिहासिक विजयको सम्झनामा हरेक वर्ष माघ १० गते मकवानपुरगढीमा विजयोत्सव मनाउने गरिएको छ। पहिलो विजयोत्सवमा तत्कालीन राजा पृथ्वीनारायण शाह स्वयं उपस्थित भएको इतिहास पनि उल्लेख छ।
पर्यटन पूर्वाधारमा करोडौँको लगानी
मकवानपुरगढीलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माण भइरहेको छ। गढी क्षेत्रमा तारबार, आकर्षक प्रवेशद्वार, सिँढीबाटो, वनभोजस्थल तथा अन्य संरचना निर्माण गरिएको छ। हालसम्म यहाँको पूर्वाधार विकासमा करिब आठ करोड रुपैयाँ लगानी भइसकेको स्थानीय जनप्रतिनिधिले बताएका छन्।
परिसरमा सातवटा ‘पिकनिक सेड’ निर्माण गरिएका छन्। वनभोजका लागि आउनेलाई एउटा सेड प्रयोगबापत एक हजार रुपैयाँ तथा ‘ड्राइ पिकनिक’का लागि ५०० रुपैयाँ सेवा शुल्क तोकिएको छ। अन्य पर्यटकका लागि भने प्रवेश शुल्क लिइँदैन।
गढी परिसरमा सेनवंशी राजाहरूको स्मारक निर्माण गरिएको छ भने पश्चिमतर्फको भवनलाई थप व्यवस्थित गरी ऐतिहासिक सामग्री राख्ने सङ्ग्रहालय बनाउने योजना पनि अघि सारिएको छ।
सेतो एकदन्ते हात्तीको इतिहास
दरबारतर्फ जाने क्रममा सेतो एकदन्ते हात्तीको प्रतिमा पनि देख्न सकिन्छ। इतिहास, वंशावली र लोककथाअनुसार मकवानपुरका राजा हेमकर्ण सेनले आफ्नी छोरीको विवाह गोरखाका युवराज पृथ्वीनारायण शाहसँग गराएका थिए।
कन्यादानका क्रममा बहुमूल्य उपहार प्रदान गर्नुका साथै नवदम्पतीलाई सेतो एकदन्ते हात्तीमा चढाएर बिदाइ गरिएको प्रसङ्गसँग जोडेर उक्त प्रतिमा निर्माण गरिएको हो। त्यसबेला हात्ती शक्ति, सम्पत्ति र राजकीय अधिकारको प्रतीक मानिन्थ्यो भने सेतो हात्तीलाई असाधारण वैभव र उच्च प्रतिष्ठिको संकेतका रूपमा लिइन्थ्यो।
इतिहाससँगै धार्मिक आस्थाको केन्द्र
मकवानपुरगढी ऐतिहासिक मात्र नभई धार्मिक महत्वको गन्तव्य पनि हो। यहाँ रहेको वंशगोपाल मन्दिर र शिव मन्दिरमा विभिन्न चाडपर्व तथा विशेष अवसरमा ठूलो सङ्ख्यामा श्रद्धालु पुग्ने गर्छन्।
वंशगोपाल मन्दिरमा रहेको भगवान् कृष्णको मूर्तिलाई फलामे साङ्लोले बाँधेर राखिएको छ। यससँग रोचक किंवदन्ती जोडिएको छ। जनविश्वासअनुसार कृष्ण रातको समयमा मन्दिरबाट बाहिर विभिन्न स्थानमा घुम्न जाने गर्थे र कुनै अनिष्ट नहोस् भनेर गाउँलेले मूर्तिलाई फलामे साङ्लोले बाँधेर राखेका थिए।
परिसरभित्र राजा बस्ने दरबार, पालेपहारा तथा हातहतियार राख्ने भवन, कारागार र खानेपानीका पुराना संरचनासमेत रहेका छन्।
कवि र कलाकारको पनि आकर्षण
ऐतिहासिक परिवेश, प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्वका कारण मकवानपुरगढी कवि तथा कलाकारहरूको पनि रोजाइमा पर्ने गरेको छ। विभिन्न स्थानबाट कलाकार यहाँ पुगेर दरबार, गढी र वरपरको प्राकृतिक दृश्यलाई आफ्नो सिर्जनामा उतार्ने गर्छन्।
नेपाल एकीकरणको इतिहासदेखि सेनवंशी राजाको विरासत, विदेशी सेनामाथिको विजय, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यसम्मको संगम बनेको मकवानपुरगढी अब इतिहास हेर्ने मात्र होइन, घुम्नैपर्ने पर्यटकीय गन्तव्यका रूपमा पनि परिचित बन्दै गएको छ।