अमेरिकाको वासिङ्टन राज्यमा तीव्र गतिमा फैलिएको भीषण डढेलोले ठूलो विनाश मच्चाएको छ। स्पोकान काउन्टीमा मात्रै तीन ठूला डढेलोका कारण सयौँ संरचना ध्वस्त भएका छन् भने कम्तीमा ६० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रारम्भिक विवरणअनुसार अहिलेसम्म आगलागीका कारण मृत्यु वा कोही गम्भीर घाइते भएको पुष्टि भएको छैन, तर क्षतिको पूर्ण मूल्यांकन हुन अझै समय लाग्ने अधिकारीहरूले बताएका छन्।राज्यभर भने १५ वटा ठूला डढेलोका कारण २ लाख ५० हजार एकडभन्दा बढी क्षेत्र जलेको छ। समाचार संस्था रोयटर्सका अनुसार यस गर्मीयाममा वासिङ्टनमा हालसम्म करिब ४ लाख ५० हजार एकड भूभाग डढेलोबाट प्रभावित भइसकेको छ। राज्यका सार्वजनिक भूमि आयुक्त डेभ अप्टेग्रोभका अनुसार हजारौँ अग्निनियन्त्रक विभिन्न क्षेत्रमा आगो नियन्त्रणका लागि खटिएका छन्।
१८ साउन २०८३, सोमबार १२:२३ मा प्रकाशित