काठमाडौं महानगरले महिलाका लागि निःशुल्क क्यान्सर तथा स्त्रीरोग परीक्षण गराउने

nepalkuro.com

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा विभिन्न स्त्रीरोगको निःशुल्क परीक्षण गराउने भएको छ।

काठमाडौं महानगरपालिका–२७ ले आगामी असोज १७ गते शनिबार महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो। शिविर सञ्चालनका लागि वडाले निजामती कर्मचारी अस्पतालसँग सम्झौतासमेत गरिसकेको छ।

वडाले ‘वडाको अग्रसरतामा क्यान्सरमुक्त टोल, क्यान्सरमुक्त समुदाय तथा क्यान्सरमुक्त वडा’ भन्ने कार्यक्रम अघि सारेको छ। उक्त कार्यक्रमलाई क्रमशः महानगरपालिकाका सबै वडामा विस्तार गर्ने योजना रहेको महानगरले जनाएको छ।

सम्झौतापछि कार्यवाहक प्रमुख सुनिता डङ्गोलले महिलामा देखिन सक्ने क्यान्सरको लक्षण देखिनुअघि नै रोगको सम्भावना पहिचान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन्।

“पछिल्लो समय महिलामा स्वास्थ्य समस्याका रूपमा रहेको क्यान्सरको लक्षण नदेखिँदै रोगको सम्भावना पहिचान गर्न खोजिरहेका छौँ,” उनले भनिन्।

विभिन्न अभियान तथा कार्यक्रममार्फत नगरवासीलाई रोग लाग्नुअघि नै स्वास्थ्य परीक्षण र सतर्कता अपनाउन आग्रह गर्दै आएको उनले बताइन्। विशेषगरी सहरी क्षेत्रमा रोग लाग्नुअघि स्वास्थ्य परीक्षण गराउने परम्परा कम रहेकाले टोलमै पुगेर सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गर्न लागिएको उनको भनाइ छ।

वडाध्यक्ष योगेश खड्गीले घरदैलोमै सञ्चालन हुने शिविरबाट धेरै महिला लाभान्वित हुने विश्वास व्यक्त गरे।

निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा. जितेन्द्र परियारले शिविरमा परीक्षणका क्रममा जटिल समस्या देखिएमा अस्पतालले थप उपचार तथा परीक्षणका लागि सहजीकरण गर्ने बताए।

उनका अनुसार प्रारम्भिक जाँचका क्रममा कुनै समस्या देखिएमा चिकित्सकको सल्लाहअनुसार थप परीक्षण आवश्यक परे वडाको सिफारिसमा निजामती कर्मचारी अस्पतालमा अल्ट्रासाउण्ड, मेमोग्रामलगायतका परीक्षण गराउन सकिनेछ।

काठमाडौं महानगरपालिकाले यसअघि पनि क्यान्सर रोगको परीक्षणका लागि एकमहिने अवधिको स्वास्थ्य शिविर सञ्चालन गरेको थियो।

प्रतिक्रिया