वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका–२ स्थित ढोङ्गही खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
भैँसी चराउन गएका बेला राउत खोलामा बेपत्ता भएका थिए। स्थानीयबाट सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली खोजीमा परिचालन भएको थियो।
सुरक्षा बेस पोखरियाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सञ्जय रेग्मीको कमाण्डमा तथा इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको टोलीले खोजी गर्ने क्रममा खोलामा डुबेको अवस्थामा राउतको शव फेला पारेको हो।
शवको आवश्यक मुचुल्का तयार गरी परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।