काँकडभिट्टामा ‘गोप्रो क्यामेराबाट’ सीमा निगरानी, तस्करी नियन्त्रणमा प्रविधिको प्रयोग

nepalkuro.com

झापा– नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ प्रयोग गरी सीमा निगरानी सुरु गरेको छ।

सीमा क्षेत्रको सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउनुका साथै सूचना सङ्कलन र आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले गोप्रो क्यामेरा प्रयोगमा ल्याएको हो।

सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यका अनुसार अवाञ्छित वा आपराधिक घटना भएमा त्यसको प्रत्यक्ष प्रमाण सङ्कलन गर्न गोप्रो क्यामेरा उपयोगी हुनेछ। यसबाट घटनाको अनुसन्धानलाई थप पारदर्शी, प्रमाणमा आधारित र वस्तुनिष्ठ बनाउन सहयोग पुग्ने उनले बताए।

हाल गणले दुई थान गोप्रो क्यामेरा सञ्चालनमा ल्याएको छ। सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य सीमा अपराध नियन्त्रणमा प्रविधिको प्रयोगले महत्वपूर्ण सहयोग पुग्ने विश्वास कर्माचार्यले व्यक्त गरे।

सशस्त्र प्रहरीको प्रविधिमैत्री तथा सक्रिय परिचालनले सीमावर्ती क्षेत्रमा सुरक्षाको अनुभूति बढेको स्थानीयवासीले बताएका छन्। सीमा क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न स्थानीयवासीले समेत सशस्त्र प्रहरीलाई आवश्यक सहयोग गर्दै आएका छन्।

सीमा सुरक्षा व्यवस्थालाई आधुनिक प्रविधिसँग जोड्दै निगरानी क्षमता बढाउने प्रयासले सीमा अपराध नियन्त्रणमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया