मियामी विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटना, पाँच जनाको मृत्यु
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर नजिकैका गाडीमा ठोक्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन्।
मियामी–डेड फायर रेस्क्युका प्रमुख रायद ‘रे’ जादाल्लाहका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ भने अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
धावनमार्गबाट बाहिरिएको विमान नजिकैका गाडीमा ठोक्किएपछि घटनास्थलमा भीषण आगलागी भएको थियो। दुर्घटनालगत्तै ६० भन्दा बढी उद्धार टोली घटनास्थलमा पुगेका थिए। गाडीभित्र चेपिएका व्यक्तिलाई उद्धार टोलीले बाहिर निकालेको थियो भने विमानका पाइलटलाई समेत उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।
‘फ्लाइटराडार२४’ को तथ्यांकअनुसार दुर्घटनामा परेको बोइङ ७६७ विमान धावनमार्गबाट बाहिरिँदा प्रतिघण्टा करिब १३० माइलको गतिमा रहेको थियो।
विमान किन समयमै रोक्न नसकेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको मियामी प्रहरीले जनाएको छ। दुर्घटनाको वास्तविक कारण भने अनुसन्धानपछि मात्र खुल्ने बताइएको छ।