प्रचण्डको चेतावनी : ‘सबैको विश्वास जित्न नसके बालेनलाई समयले पर्खिँदैन’

nepalkuro.com

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाहलाई सबै पक्षलाई विश्वासमा लिएर अघि बढ्न चेतावनी दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विपत्तिको समयमा राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिन नसकेको भन्दै प्रधानमन्त्री शाहलाई सबैको विश्वास जित्न नसके समयले नपर्खने चेतावनी दिएका हुन्।

‘विपत्तिको समयमा राष्ट्र एकजुट देखिनुपर्छ। मैले गरेर त अहिले हुँदैन, हिजो हुने जमाना थियो, अहिले अर्को जमाना आएको छ,’ प्रचण्डले भने, ‘अहिले तपाईंहरूको नेता प्रधानमन्त्री हुनुहुन्छ। उहाँले गम्भीर भएर सबैको विश्वास जित्न खोज्नुभएन भने समयले उहाँलाई पनि नपर्खिन सक्छ।’

प्रचण्डले विपद्को समयमा सरकार सामाजिक सञ्जालमा पोस्ट गरेर मात्र बसेको आरोपसमेत लगाए। संकटमा परेका नागरिकलाई सामाजिक सञ्जालमा सरकारका पोस्टभन्दा प्रभावकारी उद्धार, राहत र राज्यको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको उनको भनाइ थियो।

‘पीडितले अहिले सोसल मिडियामा पोस्ट खोजेका होइनन्। सोसल मिडियामा पोस्ट गरेर चुनाव त जित्नुभयो, यो संकट समाधान हुँदैन,’ प्रचण्डले भने।

प्रतिक्रिया