‘श्रीमानले दोस्रो जीवन पाउनुभयो’ : १० दिनपछि श्रीमान् जीवितै भेट्दा हिराशोभाको खुसीको सीमा रहेन

nepalkuro.com

काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र श्रीमान् कवीर महर्जन फसेको खबर पाएपछि हिराशोभा महर्जनको होसहवास उड्यो। बाढीले आयोजना नै पुरेको सूचना पाएपछि उनले श्रीमान्को अवस्थाबारे परिवारमार्फत ऊर्जा मन्त्रालयदेखि नेपाल विद्युत् प्राधिकरणसम्म सोधीखोजी गरिन्।

तर, सुरुङभित्र फसेकाहरूको उद्धार भइरहेको जवाफबाहेक उनले केही जानकारी पाउन सकिनन्। १० दिनसम्म श्रीमान्को कुनै खबर नआएपछि उनले कवीर जीवितै भेटिने आशासमेत लगभग मारिसकेकी थिइन्।

शुक्रबार बिहान भने हिराशोभाले नसोचेको खबर पाइन्। नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट जीवितै उद्धार गरेका दुई जनामध्ये एक जना उनका श्रीमान् कवीर महर्जन रहेको खबर पाएपछि उनी खुसीले गद्गद् भइन्।

उद्धार गरिएका कवीरको भिडियो मोबाइलमा हेरेपछि मात्रै हिराशोभा ढुक्क भइन्। त्यसपछि उनलाई श्रीमान्लाई कुन अस्पताल ल्याइँदैछ भन्ने चासो भयो। कवीरलाई सेनाको छाउनीस्थित अस्पताल ल्याउने जानकारी पाएपछि उनी परिवारका सदस्यसहित अस्पताल पुगिन्।

अस्पतालमा श्रीमान्लाई प्रत्यक्ष देखेपछि हिराशोभाले खुसी व्यक्त गर्दै भनिन्, “श्रीमानले दोस्रो जीवन पाउनुभयो, मलाई जीवनमा अहिलेसम्म खुसी मिलेको यो पहिलोपल्ट हो।”

उनले कवीरको उद्धारमा खटिएका सबै टोलीलाई धन्यवाद दिइन्।

“मैले त उहाँ बाँच्नुहोला भन्ने आशा मारिसकेकी थिएँ। १० दिन भइसक्यो, के खानुभयो होला? कसरी बस्नुभएको होला भन्ने लागेको थियो,” हिराशोभाले भनिन्, “अहिले अस्पतालमा देख्दा धेरै खुसी लागेको छ। उद्धारमा खटिएका सबैलाई धन्यवाद दिन्छु, जसले मेरो श्रीमान्को जीवन जोगाइदिनुभयो।”

हिराशोभासँग कवीरको गत बुधबार बिहान ७ः३० बजे अन्तिमपटक सम्पर्क भएको थियो। त्यसपछि उनीसँग श्रीमान्को कुनै सम्पर्क हुन सकेको थिएन।

१० दिनसम्म सुरुङभित्र जीवन र मृत्युसँग संघर्ष गरेका कवीरको जीवितै उद्धार भएपछि भने परिवारमा खुसी फर्किएको छ।

प्रतिक्रिया