कृष्णभीर पहिरो प्रभावित पृथ्वी राजमार्ग तत्काल अस्थायी संरचना बनाएर सञ्चालन गरिने
nepalkuro.com
१७ भदौ २०८३, बुधबार
काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई तत्काल सञ्चालनमा ल्याउन अस्थायी संरचना निर्माण गरिने भएको छ । राजधानीसँगको आपूर्ति शृङ्खला सहज बनाउन हिलसाइडमा रहेको ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माण अघि बढाइने भएको हो ।
भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले पृथ्वी राजमार्ग सञ्चालन तथा त्यसको तत्कालीन र दीर्घकालीन समाधानका विषयमा मन्त्रालयमा छलफल भएको जानकारी दिएका छन् । उनका अनुसार बैठकले तत्काल सडक सञ्चालनमा ल्याउनेसँगै भविष्यमा पहिरोको जोखिम न्यूनीकरणका लागि वैकल्पिक मार्गको अध्ययन गर्ने निर्णय गरेको छ ।
तत्कालका लागि कृष्णभीर माथिबाट नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याउने विकल्पमा सहमति भएको मन्त्री लम्सालले बताए । त्यसका लागि आवश्यक स्थानमा ट्रयाक खोल्ने, ‘ग्याबियन बक्स’ तयार गर्ने तथा हिलसाइडबाट ‘बोल्डर’ तल खसालेर सडक सञ्चालनयोग्य बनाउने काम अघि बढाइनेछ ।
राजधानीसँग देशका विभिन्न भाग जोड्ने प्रमुख मार्ग भएकाले पृथ्वी राजमार्ग अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा यात्रु आवागमनमा समेत असर परेको छ । त्यसलाई मध्यनजर गर्दै सडकलाई सकेसम्म छिटो अस्थायी रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
दीर्घकालीन रूपमा भने कृष्णभीर क्षेत्रमा पहिरोको समस्या समाधान गर्न सुरुङमार्ग निर्माण, ‘सोइल नेलिङ’, ‘सिट पाइल’लगायतका प्रविधिको सम्भाव्यता अध्ययन गरिने भएको छ । सडक विभागले भूगर्भीय अवस्था तथा प्राविधिक सम्भाव्यता हेरेर उपयुक्त विकल्प छनोट गर्नेछ ।
मन्त्रालयका अनुसार सुरुङमार्ग वा बाइपास सडक निर्माणका सम्भावित विकल्पबारे तत्काल अध्ययन सुरु गरिनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडकको व्यवस्था गर्ने लक्ष्यसहित आवश्यक प्रक्रिया अगाडि बढाइने मन्त्री लम्सालले जानकारी दिए ।
वैकल्पिक सडकको अध्ययनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउने भएको छ । आवश्यकताअनुसार सोसाइटी र सडक विभागबीच समझदारी (एमओयू) समेत गरिने मन्त्रालयले जनाएको छ ।
तत्काल अस्थायी संरचना निर्माण गरी पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउने र दीर्घकालीन रूपमा सुरुङ वा बाइपास सडक निर्माणको विकल्प अघि बढाउने तयारीले कृष्णभीरको पहिरो समस्याको स्थायी समाधान खोज्ने प्रयाससमेत अघि बढेको छ ।