रामेछाप डकैती प्रकरणमा पाँच पक्राउ, ‘पेसेवर गिरोह’ रहेको प्रहरीको दाबी

nepalkuro.com

रामेछाप– रामेछापको खाँडादेवी गाउँपालिका–२ मझुवा नेवारटोलमा वृद्ध दम्पतीलाई बाँधेर गरगहना तथा नगद लुटेको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेकाहरू चोरी तथा डकैतीका अन्य घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीले जनाएको छ ।

गत भदौ १८ गते मध्यराति डकैत समूह घरमा प्रवेश गरी ८५ वर्षीय बखतमान लामा र उनकी ८६ वर्षीया श्रीमती कान्छी माया तामाङलाई प्लास्टिकको टेपले हात बाँधेर लडाएको थियो । उनीहरूको मुख थुनेर आँखामा पट्टी बाँधी घरमा रहेको गरगहना तथा नगद डकैती गरी समूह फरार भएको थियो ।

घटनाको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रामेछापले अनुसन्धान अघि बढाएको थियो । सीसीटीभी फुटेज तथा प्राविधिक सहयोगबाट सुरुमा चार जनाको संलग्नता पहिचान भएको थियो । अनुसन्धानका क्रममा भक्तपुर प्रहरीको समेत सहयोग लिएर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेक गाउँपालिका–२ का २५ वर्षीय सुमन जर्घा मगर, रामेछापको खाँडादेवी गाउँपालिका–२ का ३२ वर्षीय दीर्घराज मोक्तान, सोही ठाउँका ३३ वर्षीय पशुपति श्रेष्ठ, झापाको दमक नगरपालिका–७ का ४४ वर्षीय पिताम्बर तहतराज र धनकुटाको बेलाहारा गाउँपालिका–५ का ३८ वर्षीय दीपक भनिने गुणराज विश्वकर्मा छन् ।

प्रहरीका अनुसार सुमन काठमाडौंको एक निजी विद्यालयमा बस चालकका रूपमा कार्यरत छन् । उनको साथबाट २५ हजार रुपैयाँ नगद, मोबाइल फोन तथा बा ७३ प ८७१२ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

दीर्घराज सार्वजनिक बसका सहचालक रहेको प्रहरीले जनाएको छ । उनको साथबाट ५२ हजार २०० रुपैयाँ नगद तथा डकैतीका बेला लगाएको ज्याकेट र हाफ प्यान्ट बरामद भएको रामेछाप प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक कमल राउतले बताए ।

पशुपति मोटरसाइकल राइड सेयर गर्ने व्यक्ति रहेको खुलेको छ । उनको साथबाट मोटरसाइकल र ६ हजार ४६० रुपैयाँ नगद बरामद भएको छ । उनको लक्ष्मी सनराइज बैंकको खातामा १ लाख ३१ हजार रुपैयाँ मौज्दात रहेको समेत प्रहरीले जनाएको छ ।

पिताम्बर भक्तपुरमा सुनचाँदी व्यवसाय गर्दै आएका व्यक्ति रहेको खुलेको छ । अर्का पक्राउ परेका गुणराजको साथबाट सुनका दुई थान औँठी बरामद भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा पशुपति यसअघि रामेछापकै एक महादेव मन्दिरको दान पेटिका फुटाएर चोरी गरेको घटनामा समेत संलग्न रहेको खुलेको प्रहरीको भनाइ छ ।

त्यस्तै, गत असार १ गते राति सुन्दरी श्रेष्ठको करिब ३० किलोको खसी तथा भदौ ७ गते रामबहादुर श्रेष्ठको १५ किलोको बोका चोरी भएको घटनामा समेत यही समूहको संलग्नता रहेको प्रहरी निरीक्षक राउतले जानकारी दिए ।

प्रहरीका अनुसार भदौ १८ गते बिहान करिब ६ बजेतिर यही समूहले रामेछापको सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित ७५ वर्षीय इमान सिंह तामाङको घरबाट ७८ हजार रुपैयाँ चोरी गरेको तथ्यसमेत खुलेको छ ।

पक्राउ परेकाहरूको विगतसमेत अनुसन्धान गर्दा उनीहरूविरुद्ध विभिन्न कसुरमा प्रहरीमा मुद्दा चलेको देखिएको छ । प्रहरीको अपराध अभिलेख प्रणाली (सीआरएस)मा पशुपतिविरुद्ध प्रहरी वृत्त कालिमाटीमा डाँका तथा चोरीसम्बन्धी मुद्दा चलेको देखिएको छ ।

दीर्घराजविरुद्ध रामेछापमा २०७८ पुस १४ गते अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको पाइएको छ । गुणराजविरुद्ध प्रहरी वृत्त बौद्धबाट जुवा कसुरमा मुद्दा चलेको अभिलेखमा देखिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार सीसीटीभी फुटेज तथा अन्य प्राविधिक माध्यमको सहयोगमा समूहलाई नियन्त्रणमा लिन सफल भएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको अनुसन्धान र सीआरएस अभिलेख जाँच गर्दा उनीहरू विगतदेखि नै चोरी तथा डकैतीमा संलग्न रहेको देखिएको छ ।

“हामीले पक्राउ गरेर यिनीहरूको नाम सीआरएसमा भिडाउँदा पो थाहा पाइयो, यो समूह त पेसेवर रहेछन्,” प्रहरी नायब उपरीक्षक राउतले भने, “रामेछाप आएर डाँका तथा चोरी गर्ने र काठमाडौं उपत्यका पुगेर बेच्ने धन्दा यो गिरोहको विगतदेखि नै चलिरहेको रहेछ ।”

प्रहरीले पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया