डुम्रे–बेँसीसहर सडक विस्तार तीव्र, चाम्बास–बाइसजाँघर खण्डमा ३२ प्रतिशत काम सम्पन्न

nepalkuro.com

लमजुङ– डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका–३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तार तथा कालोपत्रको काम तीव्र रूपमा अघि बढेको छ। करिब ८.९ किलोमिटर लामो उक्त सडकखण्डमा सडक विस्तारको काम धमाधम भइरहेको छ।

उक्त सडक निर्माणको जिम्मा पिके निर्माण सेवा दाङले लिएको छ। रु. ६२ करोडमा ठेक्का सम्झौता भएको सडकखण्डमा हालसम्म करिब ३२ प्रतिशत भौतिक प्रगति भएको डुम्रे–बेँसीसहर सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिए।

आयोजनाका अनुसार २०८२ साल जेठमा सम्झौता भएको उक्त सडकखण्ड २०८४ जेठसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हाल सडक चौडा बनाउने, पर्खाल तथा नाली निर्माण गर्ने र बेस तयार गर्ने काम भइरहेको छ। यसपछि कालोपत्र, कल्भर्ट निर्माण तथा रङरोगनलगायतका काम सम्पन्न गर्न बाँकी रहेको आयोजनाले जनाएको छ।

यसैगरी, चालु आर्थिक वर्षमा तनहुँको बाइसजाँघरदेखि लमजुङ–तनहुँ सिमाना हुँदै लमजुङको सुन्दरबजार नगरपालिका–७ पाउँदीसम्मको करिब ६.५ किलोमिटर सडक दुई लेनमा विस्तार गर्न रु. ६८ करोड बजेट विनियोजन गरिएको छ।

उक्त सडकखण्डका लागि ठेक्का आह्वान भइसकेको र ठेकेदार छनोटको प्रक्रिया अघि बढिरहेको आयोजनाले जनाएको छ।

डुम्रे–बेँसीसहर–चामे सडक लमजुङ, मनाङलगायतका जिल्लालाई जोड्ने महत्वपूर्ण सडकमार्ग हो। यही मार्ग हुँदै अन्नपूर्ण पदमार्गमा जाने आन्तरिक तथा विदेशी पर्यटकको समेत आवतजावत हुने गरेको छ।

सडक दुई लेनमा विस्तार तथा स्तरोन्नति भएपछि यातायात आवागमन थप सहज हुनुका साथै लमजुङ र मनाङको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया