भोटेकोशी–त्रिशूली बाढी उद्धारमा ‘एक सातामै सय उडान’, सीएनएनसँग पाइलट प्रिया अधिकारीको अनुभव

nepalkuro.com

काठमाडौं– नेपालको पहिलो महिला हेलिकोप्टर पाइलट प्रिया अधिकारी यतिबेला भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धारमा सक्रिय छिन्। उनले पछिल्लो एक साताको अवधिमा प्रभावित क्षेत्रमा करिब एक सयपटक उडान भरेर बाढीपीडितको उद्धारमा योगदान दिएकी छन्।

उद्धारका क्रममा अधिकारीले भोगेको अनुभवबारे अमेरिकी समाचार संस्था सीएनएनले उनीसँग संक्षिप्त भिडियो अन्तर्वार्ता गरेको छ। सीएनएनका पत्रकार एन्डरसन कुपरसँगको कुराकानीमा उनले बाढीपछिको भयावह अवस्था, उद्धारका क्रममा आइपरेका चुनौती र प्रभावित क्षेत्रको अवस्थाबारे अनुभव सुनाएकी छन्।

अधिकारीले बाढीग्रस्त क्षेत्रको जटिल भूगोलका कारण उद्धार कार्य निकै कठिन बनेको बताएकी छन्। उनका अनुसार २०७२ सालको भूकम्पका बेला गरिएको उद्धारभन्दा अहिलेको उद्धार थप चुनौतीपूर्ण रहेको छ।

भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रमा अत्यन्तै साँघुरो उपत्यकाभित्र एकैपटक २० वटासम्म हेलिकोप्टर परिचालन गर्नुपर्ने अवस्था रहेको उनले बताइन्। धेरै हेलिकोप्टर एकै क्षेत्रमा सञ्चालन हुँदा हरेक क्षण पाइलटहरूबीच सञ्चार र समन्वय आवश्यक पर्ने भएकाले उडान थप चुनौतीपूर्ण बनेको उनको भनाइ छ।

हेलिकोप्टर अवतरण र उडानका क्रममा समेत निकै जोखिम रहेको अधिकारीले बताएकी छन्। बाढीका कारण प्रभावित क्षेत्रमा बाक्लो लेदो जमेकाले हेलिकोप्टर अवतरण गर्दा भासिने जोखिम रहेको उनले बताइन्। त्यसैले अत्यन्तै सचेत भएर हेलिकोप्टर अवतरण गर्नुपर्ने र आवश्यक पर्दा तत्काल उडान भर्न सक्ने गरी हेलिकोप्टरलाई तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ।

अधिकारीले आफूले उद्धार गरेको क्षेत्रमा थुप्रै जलविद्युत् आयोजना तथा बस्ती बाढीले बगाएको भयावह दृश्य देखेको बताएकी छन्। बाढीका कारण धेरै मानिसले ज्यान गुमाएको उल्लेख गर्दै उद्धारका क्रममा हेलिकोप्टरबाट शवहरू देख्दा आफूलाई निकै कठिन महसुस हुने उनले बताइन्।

अन्तर्वार्ताका क्रममा उनले बाढी प्रभावित क्षेत्रबाट एक बालिकालाई जीवितै उद्धार गरेको घटना समेत सुनाइन्। अत्यन्तै विकट भौगोलिक अवस्था हुँदाहुँदै पनि आफूहरूले हालसम्म करिब दुई सय जनालाई उद्धार गरिसकेको उनले बताएकी छन्।

बाढीबाट जोगिएका मानिसहरूले उद्धारका लागि हेलिकोप्टरतर्फ हात हल्लाइरहेको दृश्य सम्झिँदै अधिकारीले आफूलाई उनीहरू कसरी त्यस्तो भयावह अवस्थाबाट बाँच्न सफल भए भन्ने लाग्ने बताइन्।

उनले भनेकी छन्, “मलाई थाहा छैन, उनीहरू कसरी बाँचे !”

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीपछि नेपाली सेना, निजी तथा सरकारी हेलिकोप्टरसहित विभिन्न निकाय उद्धारमा परिचालित छन्। जटिल भौगोलिक अवस्था र मौसमका चुनौतीबीच उद्धार कार्य जारी छ।

प्रतिक्रिया