मधेसमा १५४ हेक्टरभन्दा बढी वन अतिक्रमणमुक्त

nepalkuro.com

जनकपुरधाम– मधेस प्रदेश सरकारले वन अतिक्रमण नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका विभिन्न जिल्लामा गरी १५४ दशमलव ५५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको मधेस प्रदेश वन निर्देशनालय, जनकपुरधामले जनाएको छ।

वन निर्देशनालयका सूचना अधिकारी सजन चौधरीका अनुसार सो अवधिमा सबैभन्दा बढी पर्सामा १२० हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको छ। त्यस्तै बारामा २१ हेक्टर, सप्तरीमा पाँच हेक्टर, धनुषामा तीन दशमलव २५ हेक्टर, सर्लाहीमा तीन हेक्टर, महोत्तरीमा दुई हेक्टर र सिरहामा शून्य दशमलव ३५ हेक्टर वन क्षेत्र अतिक्रमणमुक्त गरिएको हो।

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएर ती क्षेत्रलाई पुनः वन संरक्षण तथा व्यवस्थापनको दायरामा ल्याइएको चौधरीले बताए। उनका अनुसार वन अतिक्रमण नियन्त्रणसँगै चोरी–तस्करी रोकथाम तथा वन संरक्षणका गतिविधिलाई समेत तीव्रता दिइएको छ।

३२ लाखभन्दा बढी बिरुवा उत्पादन, २६१ हेक्टरमा वृक्षरोपण

वन संरक्षण तथा हरियाली प्रवर्द्धनका लागि प्रदेशका विभिन्न जिल्लामा गत आवमा ३२ लाख ३९ हजार ८१० बिरुवा उत्पादन गरिएको छ। ती बिरुवा प्रयोग गरी २६१ दशमलव ७७ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको निर्देशनालयले जनाएको छ।

जिल्लागत रूपमा सबैभन्दा बढी सर्लाहीमा आठ लाख ६३ हजार ९७० बिरुवा उत्पादन गरिएको छ। त्यस्तै सप्तरीमा पाँच लाख तीन हजार ६४०, सिरहामा चार लाख १५ हजार, धनुषामा चार लाख तीन हजार, महोत्तरीमा दुई लाख २० हजार, बारामा चार लाख ३४ हजार २०० र पर्सामा चार लाख बिरुवा उत्पादन गरिएको छ।

वृक्षरोपणतर्फ सप्तरीमा ९५ हेक्टर, धनुषामा ६६ दशमलव ५ हेक्टर, बारामा ४३ दशमलव ५३ हेक्टर, महोत्तरीमा २० हेक्टर, सिरहामा २६ हेक्टर, सर्लाहीमा आठ दशमलव ५ हेक्टर र पर्सामा दुई दशमलव २४ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको सूचना अधिकारी चौधरीले जानकारी दिए।

साढे ६ लाख घनफिटभन्दा बढी काठ उत्पादन

चालु आर्थिक वर्षमा मधेस प्रदेशका वन क्षेत्रबाट उल्लेख्य परिमाणमा काठ तथा दाउरा उत्पादन भएको छ। वन निर्देशनालयका अनुसार हालसम्म छ लाख ६५ हजार २७३ दशमलव २६ घनफिट काठ उत्पादन भएको छ।

सबैभन्दा बढी सर्लाहीमा तीन लाख ५१ हजार ७५९ दशमलव ५ घनफिट काठ उत्पादन भएको छ। त्यस्तै सप्तरीमा ६५ हजार २९ दशमलव ४९, सिरहामा ६७ हजार ८७६ दशमलव ६७, धनुषामा सात हजार ६२३ दशमलव ७२, महोत्तरीमा ७८ हजार ५१६ दशमलव ९८ र बारामा ९४ हजार ४६६ दशमलव ९ घनफिट काठ उत्पादन भएको चौधरीले बताए।

सोही अवधिमा एक हजार २५६ चट्टा दाउरा उत्पादन भएको छ। सप्तरीमा ३५ दशमलव ३६, सिरहामा २२ दशमलव ५७, धनुषामा सात दशमलव ३८, महोत्तरीमा १९६ दशमलव ८९, सर्लाहीमा ७५१ दशमलव ९५ र बारामा २४२ चट्टा दाउरा उत्पादन भएको जनाइएको छ।

वन पैदावार बिक्रीबाट ५ करोड ८५ लाख राजस्व

वन पैदावारको बिक्री वितरणतर्फ हालसम्म पाँच लाख तीन हजार ७९९ दशमलव २७ घनफिट काठ बिक्री वितरण गरिएको छ। काठ बिक्रीबाट प्रदेश सरकारलाई उल्लेख्य राजस्वसमेत प्राप्त भएको छ।

काठ तथा दाउराको बिक्री, वन पैदावारको उपयोग तथा अन्य वनजन्य गतिविधिलगायतका शीर्षकबाट हालसम्म पाँच करोड ८५ लाख ५० हजार १९० रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी चौधरीले बताए।

वन निर्देशनालयका निर्देशक सुभाषचन्द्र दासले वन कर्मचारीको सक्रियताका कारण वन क्षेत्रलाई अतिक्रमणमुक्त बनाउन तथा वन चोरी–तस्करी नियन्त्रणमा सफलता मिलेको बताए। वन संरक्षणसँगै अतिक्रमण नियन्त्रण, वृक्षरोपण र वन पैदावारको व्यवस्थित उपयोगलाई प्राथमिकतामा राखेर काम भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया