काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार सम्पन्न सेमिफाइनल खेलमा हङकङलाई तीन विकेटले पराजित गर्दै युएई लगातार तेस्रोपटक प्रतियोगिताको फाइनलमा पुगेको हो।
हङकङले दिएको ७१ रनको झिनो लक्ष्य युएईले ११.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। युएईका लागि तानिस सुरीले २७, अबीद उस्मानीले १६ तथा अक्षदीप नाथले ११ रन बनाए।
हङकङका कप्तान यासिम मोर्ताजा, एसहान खान र किञ्चित साहले एक–एक विकेट लिए।
त्यसअघि मलेसियाको बाङ्गीस्थित वाइसडी–युकेएम क्रिकेट ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ३०.१ ओभरमा ७० रनमै अलआउट भएको थियो।
हङकङका लागि जिशान अलीले २८ बलमा एक छक्का र एक चौकासहित सर्वाधिक १७ रन बनाए। अन्य ब्याटरले भने उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।
हङकङलाई सस्तैमा समेट्ने क्रममा युएईका हैदर अलीले १० ओभरमा १४ रन खर्चिएर ६ विकेट लिए।
युएईले अब अर्को सेमिफाइनलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। आजै भइरहेको अर्को सेमिफाइनलमा नेपाल र ओमान भिडिरहेका छन्। उक्त खेलमा नेपालले ओमानलाई १४८ रनको लक्ष्य दिएको छ।