बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम बढेपछि खोप व्यवस्थापन तीव्र

nepalkuro.com

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको छ। साथै, खोप सुरक्षित रूपमा भण्डारण तथा ढुवानीका लागि १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पनि पठाइएको मन्त्रालयले जनाएको छ।

रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत हैजाविरुद्धको खोप पठाइसकिएको छ। मन्त्रालयका अनुसार बिहीबारदेखि रसुवामा हैजाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायतका पानीजन्य रोगको संक्रमण फैलिन सक्ने जोखिम बढेको छ। यही जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउन र स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।

प्रतिक्रिया