डिक्सको भावुक सन्देश : ‘नेपालले मलाई अझ ठूलो पाठ सिकाइरहेको छ’
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सुरुङमा फसेकाको उद्धारमा खटिएका ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सले नेपालले आफूलाई नयाँ र गहिरो पाठ सिकाइरहेको बताएका छन्।
नेपालमा एकैपटक विभिन्न स्थानमा उद्धारका सम्भावित चुनौती देखिएको उल्लेख गर्दै डिक्सले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो अनुभव र धारणा सार्वजनिक गरेका हुन्।
उनका अनुसार अहिलेको अवस्था आफूले यसअघि कहिल्यै सामना नगरेको परिस्थितिजस्तो छ। एउटा उद्धार अभियानमा मात्र केन्द्रित हुनुपर्ने अवस्थाभन्दा फरक नेपालमा फरक–फरक स्थानमा एकै समयमा आफ्नै जोखिम र अनिश्चिततासहित उद्धारका सम्भावित अभियान अगाडि बढिरहेका छन्।
डिक्सले नेपालमा देखिएको अवस्थालाई सन् २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा भएको उद्धार अभियानसँग तुलना गरेका छन्। त्यतिबेला सुरुङमा फसेका ४१ जना कामदारलाई जीवितै उद्धार गर्ने अभियानमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनले सिल्क्यारा उद्धारका क्रममा ४१ जनालाई सुरक्षित रूपमा घर फर्काउनु नै आफूहरूसामु रहेको मुख्य लक्ष्य भएको स्मरण गरेका छन्। सामूहिक प्रयासबाट त्यो कठिन परीक्षा पार गर्न सफल भएको उनको भनाइ छ।
तर एउटा ठूलो उद्धार अभियान सफल हुँदैमा चुनौती र जिम्मेवारी समाप्त नहुने अनुभूति नेपालमा भइरहेको डिक्सले बताएका छन्। उनका अनुसार कहिलेकाहीँ एउटा ठूलो परीक्षा पार गरेपछि अझ ठूलो जिम्मेवारी सुम्पिइन सक्छ।
नेपालको अवस्थालाई उनले प्राविधिक उद्धारको चुनौतीमा मात्र सीमित गरेका छैनन्। संकटका बेला मानिसप्रतिको जिम्मेवारी, कर्तव्य र करुणालाई व्यवहारमा कसरी उतार्ने भन्ने नै ठूलो नैतिक परीक्षा भएको उनले बताएका छन्।
डिक्सले पश्चिमी परम्पराको ‘कर्तव्य’ र एसियाली परम्पराको ‘धर्म’को अवधारणासँग जोड्दै परिणाम निश्चित नभए पनि सही काम गरिरहनुपर्ने बताएका छन्। उनका अनुसार परीक्षा सफलता वा असफलताको मात्र होइन, बाटो कठिन बन्दै जाँदा र परिणाम अनिश्चित हुँदा पनि मानिसले आफ्नो जिम्मेवारी पूरा गरिरहन्छ कि रहँदैन भन्ने हो।
सिल्क्यारा उद्धारबाट आफूले सिकेको पाठभन्दा नेपालमा भइरहेको उद्धार प्रयासले आफूलाई अझ ठूलो पाठ सिकाइरहेको डिक्सको भनाइ छ। उनका अनुसार एकैपटक धेरै मानिसको जीवन उद्धारकर्तामा निर्भर हुँदा आशा मात्र पर्याप्त हुँदैन। आशालाई व्यवस्थित प्रयासमा बदल्नुपर्छ, करुणालाई व्यवहारमा उतार्नुपर्छ र परिणाम निश्चित नभए पनि जिम्मेवारीबाट पछि हट्नु हुँदैन।
डिक्सका अनुसार उद्धारको सफलता कति मानिसलाई बचाइयो भन्ने तथ्यबाट मात्र मापन हुँदैन। कठिन अवस्थामा कसैलाई त्याग्न अस्वीकार गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
रसुवाको भोटेकोसी बाढीपछि उद्धारमा खटिएका डिक्सको अभिव्यक्तिले विपद्को समयमा उद्धारको प्राविधिक पक्षसँगै मानवीय र नैतिक जिम्मेवारीलाई समेत उजागर गरेको छ।
उनको सन्देशको सार छ– उद्धारको बाटो जति कठिन र परिणाम जति अनिश्चित भए पनि जीवन बचाउने प्रयासबाट पछि हट्नु हुँदैन। आशा अनुशासनमा, करुणा कर्ममा र कर्तव्य परिणामको निश्चितताभन्दा माथि हुनुपर्छ।