पहिरो पन्छाएपछि तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा

nepalkuro.com

बाजुरा– पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ।

गत शनिबारदेखि परेको अविरल वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो। बडीमालिका नगरपालिका–६, ८ र ९ का विभिन्न स्थानमा पहिरो खसेपछि सदरमुकाम मार्तडीतर्फको यातायात ठप्प भएको थियो।

सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएपछि मंगलबारदेखि सडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए।

उनका अनुसार सदरमुकाम नजिकैको कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का र बिरेखोला लगायतका स्थानमा पहिरो खसेको थियो। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या हुँदा सडक सञ्चालनमा ल्याउन केही ढिलाइ भएको उनले बताए।

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने छोटो तथा लामो दूरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्।

तर, कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण ठूला सवारीसाधन भने अझै सञ्चालनमा आउन सकेका छैनन्। बस तथा ट्रकजस्ता ठूला सवारीसाधन सञ्चालनका लागि ढुङ्गा पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार उक्त स्थानमा मेसिन प्रयोग गरी सडक मर्मत तथा ढुङ्गा हटाउने काम भइरहेको छ। वर्षाका कारण अन्य स्थानमा समेत पहिरोको जोखिम रहेकाले यात्रु तथा सवारीसाधनलाई सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया