त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा उद्धारका लागि प्राविधिक टोली परिचालन
nepalkuro.com
१४ भदौ २०८३, आईतबार
काठमाडौँ — त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा अघि बढाउन नेपाली सेनासहितको प्राविधिक टोली परिचालन गरिएको छ।
आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रमुख तथा साइटमा कार्यरत इन्जिनियरसहित नेपाली सेनाको टोली घटनास्थलमा पुगेर उद्धारको प्रारम्भिक काम अघि बढाएको हो।
टोलीले आयोजनास्थलको भौगोलिक अवस्था, सुरुङ तथा अन्य प्राविधिक संरचनाको स्थलगत निरीक्षण गरी उद्धारका लागि सुरक्षित विकल्प पहिचान गरिरहेको छ। उद्धारमा संलग्न विभिन्न निकायबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ।
प्रतिकूल मौसम, बाढीका कारण भएको क्षति र चुनौतीपूर्ण भौगोलिक अवस्थाले उद्धार कार्यलाई जटिल बनाएको छ। यस्तो अवस्थामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक जनशक्ति, उद्धार उपकरण तथा अन्य स्रोतसाधन परिचालन गरेर सावधानीपूर्वक अभियान अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ।
उद्धार टोलीले आयोजनास्थलको अवस्थाबारे थप जानकारी सङ्कलन गर्दै सुरक्षित रूपमा उद्धार कार्य अगाडि बढाउने तयारी गरेको छ।