दुर्गम क्षेत्रमा खाद्यान्न पुर्याउन मन्त्री महावीर पुनको सक्रियता,M16 हेलिकप्टर तयारीमा
काठमाडौं — मौसम प्रतिकूल बन्दै गएपछि हिमाली तथा दुर्गम क्षेत्रमा खाद्यान्न अभाव हुन नदिन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री डा. महावीर पुनले राहत तथा उद्धार व्यवस्थापनलाई तीव्रता दिन पहल थालेका छन्।
मन्त्री पुनका अनुसार गोसाइकुण्ड गाउँपालिकाका दुर्गम क्षेत्रमा आज बिहान दुईवटा M16 हेलिकप्टरमार्फत खाद्य सामग्री पठाउने तयारी गरिएको छ। ठूला हेलिकप्टर पुग्न नसक्ने स्थानमा भने साना हेलिकप्टरमार्फत खाना तथा अन्य अत्यावश्यक उद्धार सामग्री निरन्तर पुर्याउने व्यवस्था गरिएको उनको भनाइ छ।
उनले अनि धुन्चेसम्म पुग्ने वैकल्पिक बाटोबाट जिपमार्फत समेत उद्धार सामग्री पठाउने तयारी भइरहेको जानकारी दिएका छन्। यसले मौसमका कारण हवाई उद्धार तथा आपूर्ति प्रभावित भए पनि सडकमार्गबाट आवश्यक सामग्री पुर्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री पुनले राहत कार्यलाई सरकारको मात्र जिम्मेवारी नबनाई विभिन्न संघसंस्था तथा समूहले संकलन गरेका उद्धार सामग्रीसमेत एकीकृत प्रणालीमार्फत सम्बन्धित क्षेत्रमा पुर्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।
उनको भनाइमा, विभिन्न ठाउँमा छुट्टाछुट्टै रूपमा राहत सामग्री संकलन भइरहे पनि त्यसलाई व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा पुर्याउन एकद्वार प्रणाली आवश्यक छ। यसबाट राहत सामग्रीको दोहोरोपन घट्नुका साथै वास्तविक रूपमा आवश्यक परेका नागरिकसम्म छिटो र प्रभावकारी रूपमा सहायता पुग्न सक्नेछ।
‘राहत सामग्री जहाँ आवश्यक छ, त्यहाँ समयमै पुग्नुपर्छ’ भन्ने उद्देश्यका साथ समन्वय र व्यवस्थापनलाई प्राथमिकता दिइएको मन्त्री पुनको भनाइले विपद्को समयमा राज्य, नागरिक समाज र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता थप स्पष्ट पारेको छ।
यसअघि पनि विपद् व्यवस्थापनमा मन्त्री पुनको भूमिकालाई लिएर विभिन्न राहत तथा उद्धार प्रयासहरूमा उनको सक्रियता देखिएको छ। पछिल्लो समय नेपालमा बाढी तथा विपद्का घटनाबीच अन्तर्राष्ट्रिय सहयोगसमेत परिचालन भइरहेको छस भारतबाट आएको राहत सामग्री नेपाल सरकारका तर्फबाट मन्त्री पुनलाई हस्तान्तरण गरिएको समाचारसमेत सार्वजनिक भएको छ।