काठमाडौँ– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सुरुङमा फसेका व्यक्तिहरूको उद्धारका लागि आवश्यक परे विदेशी उपकरणसमेत तत्काल ल्याउन सुझाव दिएका छन्।
प्रधानमन्त्री शाहसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै घिसिङले नेपालमा उपलब्ध उपकरणबाट उद्धार सम्भव नभए विदेशी उपकरण तत्काल झिकाएर प्रयोग गर्नुपर्ने सुझाव दिएको बताए।
“नेपालको उपकरणले नभ्याउने भएपछि विदेशी उपकरणसमेत ल्याऊ भन्ने सुझाव दिएका हौँ,” घिसिङले भने, “राहत तथा उद्धार पर्याप्त भएन भन्ने कुरा छ। यसतर्फ गम्भीर छु भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।”
घिसिङका अनुसार प्रधानमन्त्री शाह उद्धार कार्यलाई लिएर गम्भीर रहेको र उपलब्ध सबै संयन्त्र परिचालन गरेर काम भइरहेको बताएका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन वैज्ञानिक विधि अपनाउँदै सम्बन्धित क्षेत्रका विज्ञलाई समेत परिचालन गर्नुपर्ने सुझाव आफूले प्रधानमन्त्रीलाई दिएको घिसिङले बताए।
“प्रधानमन्त्रीज्यू गम्भीर हुनुहुन्छ। प्रधानमन्त्रीज्यूले सबै संयन्त्र प्रयोग गरेर काम गरिरहेको छ भन्नुभयो,” उनले भने, “यसमा पनि हामीले वैज्ञानिक तरिकाले र विज्ञहरू परिचालन गरेर काम गरौँ भन्ने सुझाव दिएका छौँ।”
घिसिङले सुरुङमा फसेका व्यक्तिको उद्धारमा ढिलाइ नगरी आवश्यक प्रविधि, अत्याधुनिक उपकरण तथा दक्ष जनशक्ति तत्काल परिचालन गर्नुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार उद्धारका लागि देशभित्र उपलब्ध स्रोतसाधनले मात्रै नपुग्ने अवस्था देखिएमा अन्तर्राष्ट्रिय सहयोग लिनसमेत ढिलाइ गर्नु नहुनेछ।