जेन–जी आन्दोलनपछि भाटभटेनी पुरानै लयमा फर्किँदै, १७ स्टोर पुनः सञ्चालनमा
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो लयमा फर्किने प्रयासमा जुटेको छ ।
देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ मध्ये १२ वटा स्टोरमा आगजनी भएको थियो । त्यस्तै, नौवटा स्टोरमा तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनका क्रममा २१ वटा स्टोरमा क्षति पुगेकोमा हालसम्म १७ वटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् ।
तोडफोड तथा लुटपाट भएका शाखा यसअघि नै सञ्चालनमा आइसकेका छन् भने आगजनीबाट ध्वस्त भएका १२ मध्ये आठवटा शाखा पनि पुनः सञ्चालनमा आएका छन् ।
सुनसरीको धरान, काठमाडौंको नक्साल, मकवानपुरको हेटौँडा र झापाको दमक शाखा भने पुनः सञ्चालनको तयारीमा छन् । भाटभटेनीले असोज मसान्तसम्म यी शाखासमेत सञ्चालनमा ल्याउने योजना बनाएको छ ।
आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वायरहाउस र नक्साल शाखाका साथै उपत्यकाबाहिर पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा आगजनीबाट ध्वस्त भएका थिए ।
त्यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवा शाखामा आगजनी नभए पनि तोडफोड तथा लुटपाट भएको थियो । टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वर्ल्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जस्थित भाटभटेनीका स्टोर भने सुरक्षित रहेका थिए ।
आन्दोलनपछि क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै कम्पनीले व्यवसायलाई पुनः लयमा ल्याउने प्रयास गरेको छ ।
जेन–जी आन्दोलनले भाटभटेनीको भौतिक संरचनासँगै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना गरेको थियो । तर, एक वर्षको अवधिमा कम्पनी पुनः नियमित व्यावसायिक गतिविधितर्फ फर्किन थालेको छ ।
भाटभटेनीले पुनर्निर्माणमार्फत व्यवसायलाई पुरानै लयमा फर्काउनुका साथै अब ‘अन्तर्राष्ट्रिय मोडल’मा सञ्चालन गर्ने योजना अघि बढाएको छ । सोही योजनाअन्तर्गत भक्तपुरस्थित राधेराधे शाखामा भाटभटेनीले रात्रिकालीन सेवा पनि सुरु गरेको छ ।