महरको गृहमन्त्री गुरुङलाई आग्रह–‘उद्धार अभियानको कमाण्ड सम्हाल्नुहोस्, सबै सुरुङमा फसेकाको जीवन बचाउनुहोस्’
nepalkuro.com
१९ भदौ २०८३, शुक्रबार
काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको कमाण्ड सम्हाल्दै सुरुङमा फसेका नागरिकको जीवनरक्षाका लागि तत्काल राज्यशक्ति र आवश्यक जनशक्ति परिचालन गर्न आग्रह गरेका छन्।
महरले शुक्रबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङलाई आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन तथा सम्बन्धित आयोजना र प्राविधिकहरूसँग समन्वय गर्न सुझाव दिएका हुन्।
‘गृहमन्त्रीज्यू, प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ उनले भनेका छन्।
महरले गृहमन्त्रीले अक्सिजन सिलिन्डर बोक्नुभन्दा उद्धार अभियानको समन्वय, निर्णय र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। उनका अनुसार गृहमन्त्री आफैं सिलिन्डर बोकेर सुरुङमा जाँदा उद्धारमा खटिएका जनशक्तिलाई समेत असहज हुनसक्छ।
‘तपाईंको काम त्यो अक्सिजन सिलिन्डर बोक्ने होइन। तपाईंले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ महरले भनेका छन्।
उनले सामाजिक सञ्जालमा भाइरल हुने गतिविधिभन्दा सुरुङमा फसेका नागरिकको जीवन रक्षा प्राथमिकतामा राख्नुपर्ने भन्दै सम्पूर्ण राज्यशक्ति परिचालन गर्न आग्रह गरेका छन्।
महरले सिलिन्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भन्दै गृहमन्त्रीले उद्धार अभियानको नेतृत्व र व्यवस्थापनमा केन्द्रित हुनुपर्ने बताएका छन्।
‘त्यो सिलिन्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरको भनाइ छ।