रसुवागढीको बाटो अवरुद्ध भएपछि केरुङमा रहेका ४०० कन्टेनर सामान कोरला नाकाबाट ल्याइँदै

nepalkuro.com

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सडक, पुललगायतका भौतिक संरचना ध्वस्त भएपछि चीनको केरुङमा भण्डारण गरिएका नेपाली व्यापारीका सामान वैकल्पिक नाका हुँदै नेपाल ल्याइने भएको छ।

हिमपहिरोसहित ल्हेन्दे खोला हुँदै भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवागढी क्षेत्रमा दुवैतर्फका सरकारी कार्यालय, सडक तथा पुललगायतका संरचनामा ठूलो क्षति पुर्‍याएपछि केरुङका गोदाममा रहेका ४०० भन्दा बढी कन्टेनर सामान कोरला नाकाबाट नेपाल ल्याउने तयारीसहित ढुवानी सुरु भएको ‘मुसा ट्रान्सपोर्ट’ले जनाएको छ।

मुसा ट्रान्सपोर्टका प्रबन्ध निर्देशक ज्याङ सेपिङका अनुसार बाढीले रसुवागढीमा ठूलो क्षति पुर्‍याएपछि काठमाडौं जोड्ने सडकमार्ग तत्काल सञ्चालनमा आउने अवस्था देखिएको छैन। सडकमार्ग निर्माण तथा पुनःस्थापनामा समय लाग्ने भएपछि वैकल्पिक रूपमा कोरला नाका प्रयोग गरी केरुङमा रहेका सामान नेपालतर्फ ढुवानी गर्न थालिएको उनले बताए।

उनका अनुसार नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा व्यापारीका सामान समयमै नेपाल पुर्‍याउन वैकल्पिक मार्गबाट ढुवानीलाई तीव्रता दिइएको हो।

‘नेपालमा दसैँ–तिहारजस्ता ठूला चाडबाड सुरु हुन लागेको अवस्थामा छोटो सडकमार्ग प्रयोग गरी सामान ढुवानीको काम तीव्र रूपमा भइरहेको छ,’ ज्याङले भने।

यसअघि चीनबाट नेपालतर्फ सामान ढुवानी गर्ने क्रममा रसुवागढी–त्रिशूली सडकमार्गमा रहेका कैयौँ कन्टेनर बाढीले बगाएको थियो। बाढीका कारण व्यापारिक सामानसँगै सडक तथा पुललगायतका संरचनामा समेत ठूलो क्षति पुगेको छ।

ज्याङका अनुसार चिनियाँ उत्पादक कम्पनीबाट नेपाली व्यापारी तथा व्यवसायीले खरिद गरेका सामान सीमावर्ती क्षेत्रसम्म पुर्‍याउने काममा आफ्नो कम्पनी लामो समयदेखि संलग्न छ।

उनले आफ्नो परिवारको पुरानो सम्बन्धसमेत नेपालसँग जोडिएको बताए। उनका अनुसार उनका मुस्लिम पुर्खाहरू व्यापार–व्यवसायका क्रममा काठमाडौंको बागबजारबाट तिब्बततर्फ पुगेका थिए।

पुर्खाहरूको व्यापारिक सम्बन्धलाई निरन्तरता दिँदै आफूले अहिले मुसा ट्रान्सपोर्टमार्फत चीनको सिगात्सेमा रहेर नेपाल–चीन सीमासम्म सामान ढुवानीको कारोबार गर्दै आएको ज्याङले बताए।

रसुवागढी नाका तत्काल सहज रूपमा सञ्चालनमा आउन समय लाग्ने देखिएपछि कोरला नाकाबाट सामान ल्याउने विकल्पले नेपाल–चीन व्यापारलाई निरन्तरता दिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, चाडपर्वको समयमा बजारमा सामानको अभाव हुन नदिन वैकल्पिक मार्गबाट भइरहेको ढुवानीलाई व्यवसायीहरूले महत्त्वपूर्ण मानेका छन्।

प्रतिक्रिया