नेपाली भूमिमा भारतीय गाउँको नाम उल्लेख भएको बोर्ड, तत्काल हटाउने तयारी
nepalkuro.com
२३ भदौ २०८३, मङ्गलबार
दार्चुला– दार्चुलाको महाकाली नगरपालिका–८, असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ राखिएको होर्डिङ बोर्डमा भारतीय गाउँको नाम उल्लेख भएपछि स्थानीयले विरोध जनाएका छन्।
महाकाली नदीमाथि निर्माण गरिएको उक्त पुलको नेपालतर्फ नेपाली ठेगाना उल्लेख गर्नुपर्नेमा भारतीय गाउँ ‘छार्चुम’को नाम राखिएको हो। बोर्डमा ‘महाकाली–८, असिगडा, दार्चुला, नेपाल’ लेखिनुपर्नेमा ‘काली नदी छार्चुम’ उल्लेख गरिएको छ।
नेपाली भूमिमा निर्माण गरिएको पुलको बोर्डमै भारतीय गाउँको नाम उल्लेख भएपछि स्थानीयले यसलाई गम्भीर विषयका रूपमा लिँदै तत्काल सच्याउन माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाका सभापति राजेशसिंह सामन्तले बोर्डमा देखिएको त्रुटिबारे परराष्ट्र मन्त्रालय र जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जानकारी गराइसकेको बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलसँग यस विषयमा जानकारी गराइएको र भारतीय पक्षसँग समेत कुराकानी भइसकेको उल्लेख गरेका छन्।
उनका अनुसार भारतीय पक्षले त्रुटिपूर्ण बोर्ड सच्याउने प्रतिबद्धता जनाएको छ।
सामन्तले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल–भारत जोड्ने महाकाली नगरपालिका–८ असिगडामा बनेको मोटरेबल पुलको नेपालतर्फ निर्माण गरिएको बोर्डमा महाकाली–८, असिगडा, दार्चुला, नेपाल लेखिनुपर्ने ठाउँमा काली नदी ‘छार्चुम’ लेखिएको विषयलाई गम्भीरताका साथ परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय दार्चुलामा सच्याउन जानकारी गराइसकेका छौँ।’
उनले यस्ता विषयलाई गम्भीरतापूर्वक लिँदै परराष्ट्र मन्त्रालयले भारतसँग आवश्यक वार्ता तथा समन्वय गरी समस्या समाधानका लागि पहल गर्नसमेत आग्रह गरेका छन्।
यसैबीच, दार्चुलाका प्रमुख जिल्ला अधिकारी पौडेल र भारतीय समकक्षी एसडीएम तथा भारतीय लोक निर्माण विभाग (पीडब्लुडी) का इन्जिनियरबीच बोर्ड हटाउने विषयमा समन्वय भएको जनाइएको छ। भारतीय पक्षबाट त्रुटिपूर्ण बोर्ड तत्काल, मंगलबार नै हटाइने जानकारी प्राप्त भएको सामन्तले बताएका छन्।
नेपाली भूमिमा राखिएको बोर्डमा भारतीय गाउँको नाम कसरी उल्लेख भयो भन्ने विषयमा समेत प्रश्न उठेको छ। स्थानीयले यो रणनीतिक रूपमा गरिएको हो वा प्राविधिक त्रुटि मात्र हो भन्नेबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने बताएका छन्।
स्थानीयले त्रुटिपूर्ण बोर्ड तत्काल हटाएर नेपालको आधिकारिक ठेगाना उल्लेख भएको नयाँ बोर्ड राख्न माग गरेका छन्।