हेटौँडा – हेटौँडा–काठमाडौँ जोड्ने छोटो दूरीको सडकमा सवारीसाधनको चाप अत्यधिक बढेपछि स्थानीय प्रशासनले साना तथा ठूला यात्रुवाहक सवारीका लागि छुट्टाछुट्टै मार्ग निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार १४ सिटभन्दा कम क्षमताका साना सवारीसाधनले काठमाडौँ जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली रुट प्रयोग गर्नुपर्नेछ। काठमाडौँबाट हेटौँडा फर्किंदा भने फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर यातायात अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारीसाधनको चाप ह्वात्तै बढेको हो।
मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनका लागि पनि छुट्टै रुट निर्धारण गरिएको छ। जसअनुसार ठूला सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र काठमाडौँबाट हेटौँडा फर्किंदा कान्ति लोकपथ प्रयोग गर्नुपर्नेछ।
सवारीसाधनको चाप बढेसँगै सडकमा हुने भीषण जाम र यात्रुले भोग्नुपरेको सास्ती कम गर्ने उद्देश्यले वैकल्पिक मार्गको व्यवस्था गरिएको प्रशासनले जनाएको छ।