काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्को यो घडीमा सरकारलाई थकित भयो भन्दै विश्राम लिने कुनै छुट नभएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संकटका बेला देशको नेतृत्वले आँसु र बिलौना होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने बताए। आफूहरू यही दृढ संकल्पका साथ अहोरात्र विपद्सँग जुधिरहेको उनको भनाइ छ।
‘सोही दृढ संकल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन। हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
उनले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले आफ्ना सपना बुनिरहेका बालबालिका तथा हाँसो–खुसीका साथ जीवन बिताइरहेका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई क्षणभरमै खोसेर लगेको स्मरण गरे।
प्रधानमन्त्री शाहले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अझै आफ्ना आफन्त फेला नपरेर बाटो हेरिरहेका नागरिकहरूको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।
‘यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो। बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,’ उनले भने।
प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षाका लागि सरकारले सञ्चालन गरिरहेका खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका प्रयासबारे सदनलाई विस्तृत जानकारी गराएका छन्।