कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिरै ग्यास भरिँदै, काठमाडौंमा अभाव नहुने

nepalkuro.com

चितवन – पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास बोटलिङ (भर्ने) सुरु गरिएको छ। ग्यास बोकेका बुलेट कृष्णभीर हुँदै काठमाडौं आउन नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले राजधानी बाहिरका उद्योगसँग समन्वय गरी ग्यास भरेर वैकल्पिक मार्गबाट काठमाडौं लैजाने व्यवस्था मिलाएका हुन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीहरूलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ। उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन्।

उनका अनुसार उपत्यका र छिमेकी जिल्लामा मात्रै देशको कुल ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग रहेको छ।

सङ्घका सदस्य तथा बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म राजधानी बाहिरका उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याइने जानकारी दिए। उनका अनुसार बाहिरी जिल्लाका उद्योगमा भरिएको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकबाट काठमाडौं ल्याइनेछ।

बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा ग्यासको अभाव नहुने भन्दै कालाखेतीले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास जगेडा नराख्न सुझाव दिएका छन्।

उनका अनुसार श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी तथा एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेका छन्। अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग तथा अन्य ग्यास उद्योगसँग समन्वय गरेर ग्यास भर्ने काम सुरु गरेको उनले बताए।

यसरी कृष्णभीरको सडक अवरुद्ध भए पनि वैकल्पिक व्यवस्थामार्फत काठमाडौं उपत्यकामा ग्यासको नियमित आपूर्ति कायम राख्ने प्रयास भइरहेको उद्योगीहरूले बताएका छन्।

प्रतिक्रिया