जेनजी आन्दोलनमा घुसपैठ गराउने योजनाकार पहिचान गरी कारबाही गर्न एमाले महासचिव पोखरेलको माग

nepalkuro.com

काठमाडौँ– नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले गत वर्ष भएको ‘जेनजी आन्दोलन’का क्रममा भएका हिंसात्मक घटनामा घुसपैठ गर्ने तथा गराउने योजनाकार र षड्यन्त्रकारीको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका छन्।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मङ्गलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नवयुवाहरूको शान्तिपूर्ण प्रदर्शनलाई नियोजित रूपमा भड्काएर हिंसात्मक बनाइएको दाबी गरे।

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइते तथा मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। युवाहरूले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण, सहज सेवा प्रवाह तथा सामाजिक सञ्जालको निर्वाध प्रयोगजस्ता माग जायज र सबैको साझा सरोकारको विषय भएको उनको भनाइ छ।

तत्कालीन एमाले नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाई नियमनका लागि दर्ताको नीति मात्र ल्याएको दाबी गर्दै पोखरेलले सरकारका तर्फबाट त्यसबारे पर्याप्त रूपमा स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको स्वीकार गरे।

“हिजो नवयुवाहरूको भावना र माग सम्बोधनमा केही कमजोरी रहन गएको भए त्यसमा सुधार गर्दै अघि बढ्न एमाले प्रतिबद्ध छ,” उनले लेखेका छन्।

महासचिव पोखरेलले वर्तमान सरकार जेनजी आन्दोलनको वास्तविक भावनाअनुसार नभई आन्दोलनलाई ‘हाइज्याक’ गर्नेहरूको योजना र प्रभावमा चलेको आरोपसमेत लगाए। उनले आन्दोलनमा घुसपैठ गर्ने तथा गराउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।

नवयुवाको भावनाको कदर, सुशासनको प्रत्याभूति र विधिको शासन स्थापना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको पोखरेलको भनाइ छ। एमाले हिजो पनि नवयुवाको पक्षमा रहेको र आगामी दिनमा पनि उनीहरूसँगै मिलेर अघि बढ्ने उनले दाबी गरेका छन्।

प्रतिक्रिया