राजविराज अस्पताल बाहिरै गर्भवतीले जन्माइन् शिशु, छानबिन समिति गठन हुने

nepalkuro.com

काठमाडौँ– सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल बाहिर सडकमै एक गर्भवती महिलाले शिशुलाई जन्म दिएकी छन्। ३० वर्षीया वविता पासवानले अस्पतालको गेट नजिकै सडकमा बच्चा जन्माएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक रूपक खड्काले जानकारी दिएका छन्।

सडकमै सुत्केरी भएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। भाइरल भिडियोमा अस्पतालमा सुत्केरी गराउन पुगेकी महिलालाई स्वास्थ्यकर्मीले महँगो जाँच गराउनुपर्ने बताएपछि उनी अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएको दाबी गरिएको छ।

घटनाबारे सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई छानबिन गर्न निर्देशन दिएका छन्। उनले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी देखिएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिएको बताए।

गजेन्द्र नारायण सिंह अस्पताल संघीय सरकार मातहतको सरकारी अस्पताल हो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झा अहिले काठमाडौँमा छन्। उनले आफूले पनि जाँच गर्न आवश्यक रकम नभएपछि महिला अस्पतालबाट फर्किएको र बाहिरै बच्चा जन्माएको बुझेको बताए।

उनका अनुसार ती महिला राति करिब १ बजे अस्पताल पुगेकी थिइन्। डेलिभरी गराउनुअघि दुई–तीन हजार रुपैयाँ बराबरको सामान्य जाँच गर्नुपर्ने भएपछि उनीहरूले आफूसँग पैसा नभएको बताएका थिए। त्यसपछि आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालले नै रकम उपलब्ध गराउने भन्दै काउन्सिलिङ गरिएको भए पनि महिलाका आफन्तहरू अस्पतालबाट फर्किएका थिए।

त्यसपछि बिहान करिब ४ः३० बजे अस्पतालको गेट नजिकै सडकमै महिलाले बच्चा जन्माएको र बच्चासहित अस्पताल पुगेको डा. झाले बताए।

उनका अनुसार अस्पतालका कर्मचारीले नाल काट्नुका साथै साल निकालेका थिए र थप स्वास्थ्य परीक्षणका लागि अस्पतालमै बस्न आग्रह गरेका थिए। तर, उनीहरू अस्पतालमा नबसी फर्किएको उनले बताए।

अस्पतालभित्रै हुने जाँच बाहिर पठाउन नमिल्ने भएकाले कुनै कर्मचारीले बाहिरबाट जाँच गराउन लेखेको वा बिरामीसँग गलत व्यवहार गरेको पाइएमा त्यसबारे छानबिन गरिने डा. झाले बताए।

आफू काठमाडौँमा रहे पनि घटनाको सत्यतथ्य पत्ता लगाउन आजै राजविराज फर्किने र छानबिन समिति गठन गरी दोषी देखिएमा सम्बन्धित कर्मचारीमाथि कारबाही गर्ने उनले बताएका छन्।

प्रतिक्रिया