महोत्तरीको ५० वर्ष पुरानो शङ्कर आदर्श पुस्तकालय पुनःजगाउँदै गुरुकुल

nepalkuro.com

महोत्तरी– प्राचीन संस्कृत भाषा तथा साहित्य साधनाको केन्द्रका रूपमा परिचित महोत्तरीको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) ले पठन संस्कृतिको विकाससँगै पाँच दशकअघिको पुस्तकालयलाई पुनःजागृत गर्ने अभियान थालेको छ।

गुरुकुलले विद्यार्थीको पठन संस्कृतिलाई प्रोत्साहन गर्दै शङ्कर आदर्श पुस्तकालयलाई पुरानै लयमा फर्काउने अभियान सञ्चालन गरेको हो। विसं २०३३ मा तत्कालीन विद्यार्थीहरूले स्थापना गरेको पुस्तकालय उचित व्यवस्थापन र संरक्षणको अभावमा विस्तारै अस्तित्व सङ्कटमा पुगेको थियो। अहिले मधेस प्रदेश सरकारको सहयोग तथा गुरुकुल प्रशासनको सक्रियताले पुस्तकालय पुनः व्यवस्थित रूपमा सञ्चालनमा आउने आशा पलाएको छ।

पुस्तकालय स्थापना भएको केही वर्षसम्म नेपाल र भारत दुवैतर्फका अध्येता तथा अनुसन्धानकर्ताका लागि यो महत्वपूर्ण गन्तव्य बनेको थियो। नेपाल–भारत सीमाबाट करिब १०० मिटरको दूरीमा रहेकाले भारतीय विज्ञसमेत अध्ययन तथा अनुसन्धानका लागि यहाँ आउने गरेको स्थानीयको भनाइ छ।

पाँच दशकअघिको पुस्तकालयको अवस्था सम्झँदै मटिहानी–७ का ९० वर्षीय प्रेस स्वतन्त्रता सेनानी विन्देश्वरीप्रसाद मण्डलले पुस्तकालय पुनः सञ्चालनको प्रयास सुरु भएकोमा खुसी व्यक्त गरे।

“हेर्दाहेर्दै यो पुस्तकालय मासियो, अहिले फेरि यसलाई जगाउने प्रयत्न थालिएको कुराले खुसी दिएको छ,” उनले भने।

पुस्तकालय सञ्चालनका लागि मधेस प्रदेश सरकारले भवन निर्माण गरेको छ। गुरुकुलका प्रधानाध्यापक पुस्तक सङ्कलन अभियानमा सक्रिय भएपछि पुस्तकालय व्यवस्थित रूपमा सञ्चालन हुने आशा पलाएको स्थानीयवासी मोहम्मद इसराफिल राइनले बताए।

संस्कृत भाषा तथा साहित्य अध्ययन गरेका राइनले पुस्तकालयको विगत सम्झँदै भने, “अग्रजहरूले स्थापना गरेको पुस्तकालयको नामोनिशान मेटिएको थियो । मैले पनि यसै गुरुकुलबाट माध्यमिक शिक्षा पूरा गरेँ, पुस्तकालयको अवस्थाले मन रुन्थ्यो।”

गुरुकुल परिसरमै प्रदेश सरकारले पुस्तकालयका लागि भवन निर्माण गरेपछि विभिन्न व्यक्तित्व तथा शुभेच्छुकबाट पुस्तक र अन्य सहयोग जुट्न थालेको विद्यालयले जनाएको छ।

३०८ वर्ष पुरानो गुरुकुल

संस्कृत भाषा र साहित्यको विकासमा मटिहानी गुरुकुलको लामो इतिहास छ। मुलुककै जेठो मानिने यो विद्यालय विसं १७७५ मा स्थापना भएको बताइन्छ। यस आधारमा गुरुकुल स्थापनाको ३०८ वर्ष पूरा भएको छ।

केही दशकअघिसम्म ब्राह्मण समुदायका लागि मात्र शिक्षा प्रदान गर्ने गुरुकुलले अहिले भने सबै जातजाति तथा धर्मावलम्बीलाई पठनपाठनको अवसर दिँदै आएको छ।

विद्यार्थीहरूकै पहलमा स्थापना भएको शङ्कर आदर्श पुस्तकालयलाई पुनः व्यवस्थित गर्ने अभियान सुरु गरेपछि विभिन्न क्षेत्रबाट सकारात्मक सहयोग प्राप्त भइरहेको गुरुकुलका प्रधानाध्यापक ईश्वरी पौडेलले बताए।

उनका अनुसार पुस्तकालयलाई पुरानै शैक्षिक तथा अध्ययनको केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले पुस्तक सङ्कलन तथा व्यवस्थापनको कामलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया