तनहुँमा पशुमा पूर्ण खोप कार्यक्रम प्रभावकारी, १ लाख ९० हजारभन्दा बढी डोज खोप लगाइयो
nepalkuro.com
९ भदौ २०८३, मङ्गलबार
तनहुँ – पशु तथा चौपायामा लाग्ने सङ्क्रामक रोग नियन्त्रणका लागि तनहुँमा सञ्चालन गरिएको पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानमा पुगेर खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाविरुद्ध एक लाख ९० हजार २०१ डोज खोप लगाइएको छ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका कार्यालय प्रमुख रविनसन अधिकारीका अनुसार खोरेतविरुद्ध ३९ हजार ८४९, लम्पी स्किन रोगविरुद्ध १० हजार ५७८, पिपिआरविरुद्ध एक लाख ३१ हजार ४७१ र बङ्गुरको हैजाविरुद्ध आठ हजार ३०० डोज खोप लगाइएको हो।
खोप कार्यक्रमअन्तर्गत जिल्लाका खोप योग्य गाईभैँसीमध्ये करिब ५० प्रतिशतमा खोरेतविरुद्ध खोप लगाइएको छ। यस्तै, ५५ प्रतिशत बाख्रामा पिपिआरविरुद्ध र ३५ प्रतिशत बङ्गुरमा हैजाविरुद्ध खोप लगाइएको अधिकारीले बताए।
पालिकागत रूपमा व्यास नगरपालिकामा १६ हजार ५८४, शुक्लागण्डकी नगरपालिकामा १७ हजार ६५६, भानु नगरपालिकामा २६ हजार सात र भिमाद नगरपालिकामा २४ हजार ३५१ पशुलाई खोप लगाइएको छ।
त्यसैगरी आँबुखैरेनी गाउँपालिकामा १९ हजार ९५८, ऋषिङ गाउँपालिकामा २० हजार १४१, घिरिङ गाउँपालिकामा २१ हजार ५०७, बन्दीपुर गाउँपालिकामा १४ हजार ९८९, म्याग्दे गाउँपालिकामा नौ हजार २४ र देवघाट गाउँपालिकामा १९ हजार ९८४ पशुलाई खोप लगाइएको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि खोप लगाइएका क्षेत्रमा सम्बन्धित रोगको प्रकोप देखिएको छैन। पशुमा सङ्क्रामक रोगको जोखिम कम गर्न नियमित र प्रभावकारी खोप कार्यक्रम महत्वपूर्ण रहेको कार्यालय प्रमुख अधिकारीको भनाइ छ।
“पूर्ण खोप कार्यक्रम सञ्चालन भएपछि जिल्लामा खोरेत, लम्पी स्किन, पिपिआर तथा बङ्गुरको हैजाको प्रकोप देखिएको छैन,” अधिकारीले भने, “खोपलाई नियमित र प्रभावकारी बनाउन सके पशुधनको सुरक्षा हुनुका साथै किसानले व्यहोर्नुपर्ने आर्थिक क्षति पनि कम गर्न सकिन्छ।”
कार्यालयले जिल्लाका १० वटै पालिकाका ८५ वडा र एक हजार ११३ टोलमा पुगेर खोप सेवा प्रदान गरेको थियो। कार्यक्रम सञ्चालनका लागि ९३ जना खोपकर्ता परिचालन गरिएको जनाइएको छ। स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी पशुपालक किसानको पहुँचमै पुगेर खोप लगाउने व्यवस्था मिलाइएको थियो।
पूर्ण खोप कार्यक्रम सञ्चालनका लागि रु एक करोड २० लाख बजेट विनियोजन गरिएकामा रु ९० लाख ४३ हजार खर्च भएको कार्यालयले जनाएको छ।
पशुमा लाग्ने सङ्क्रामक रोगले पशुधनमा प्रत्यक्ष क्षति पुर्याउनुका साथै दूध तथा मासु उत्पादनमा समेत असर पार्ने भएकाले रोग नियन्त्रणलाई प्राथमिकतामा राखिएको कार्यालयको भनाइ छ। खोरेत, लम्पी स्किन र पिपिआरजस्ता रोगको सङ्क्रमण फैलिँदा ठूलो सङ्ख्यामा पशु प्रभावित हुन सक्ने भएकाले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नुअघि नै खोपमार्फत रोकथाम गर्नु बढी प्रभावकारी हुने अधिकारीले बताए।
पशुमा पूर्ण खोप कार्यक्रमसँगै पशु स्वास्थ्य सेवा तथा पूर्वाधार विकासलाई पनि प्राथमिकतामा राखिएको छ। पशुपालक किसानलाई समयमै प्राविधिक सेवा उपलब्ध गराउने, रोगको नियमित निगरानी तथा नियन्त्रण गर्ने र पशुजन्य उत्पादन वृद्धि गर्ने उद्देश्यले सेवा विस्तार भइरहेको कार्यालय प्रमुख अधिकारीले बताएका छन्।