बाढी प्रभावित नुवाकोट र रसुवामा हैजाविरुद्धको खोप पठाइयो

nepalkuro.com

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै हैजाविरुद्धको खोप तथा आवश्यक सामग्री पठाएको छ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५ सय २३ डोज (२३ बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग समेत पठाइएको छ।

त्यस्तै, रसुवामा आइतबार नै हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ।

बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा तथा अन्य पानीजन्य रोगको सङ्क्रमण फैलिने जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा सङ्क्रमण रोकथामलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा खानेपानी तथा सरसफाइमा विशेष सावधानी अपनाउन र सम्भावित सङ्क्रमण रोकथामका लागि आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया