‘जेन–जी आन्दोलनबाट उठेका प्रश्नको जवाफ दिने ठाउँमा समयले हामीलाई उभ्याएको छ’ : रवि लामिछाने

nepalkuro.com

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जेन–जी आन्दोलनका क्रममा सडकबाट नवयुवाले उठाएका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आफूहरूलाई उभ्याएको बताएका छन्।

जेन–जी आन्दोलनको प्रथम स्मृति दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै लामिछानेले उक्त आन्दोलन कुनै राजनीतिक दल विशेषको आह्वानमा नभई स्वतःस्फूर्त रूपमा भएको जागरण भएको बताएका हुन्।

‘हिजो सडकबाट नवयुवाले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ। र यो पनि सम्झाएको छ, हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले विज्ञप्तिमा भनेका छन्।

लामिछानेले जेन–जी आन्दोलन कुनै दल विशेषको आह्वानमा नभएको स्पष्ट पार्दै कुनै पनि राजनीतिक दल वा नेताले त्यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउन नहुने बताए।

‘यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन, यो पूर्णतः स्वस्फूर्त जागरण थियो,’ उनले भने, ‘त्यसैले कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन।’

उनले ठिक एक वर्षअघि आजकै दिन नेपाली इतिहासमा नयाँ जागरणको विस्फोट भएको स्मरण गरेका छन्। वर्षौंदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध सचेत युवा पुस्ता सडकमा उत्रिएको उनको भनाइ छ।

लामिछानेले आफूहरूले एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेको उल्लेख गर्दै परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण भएको बताए।

‘भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्,’ उनले भनेका छन्।

परिवर्तनका लागि अब कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै लामिछानेले नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाएका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

उनले आन्दोलनका क्रममा अङ्गभङ्ग भएका, घाइते तथा मानसिक र शारीरिक चोट भोगेका सबैप्रति सम्मान व्यक्त गर्दै राज्यले सम्बन्धित परिवारको उचित हेरचाह, घाइतेहरूको पूर्ण उपचार र दीर्घकालीन पुनःस्थापनाको दायित्व पूरा गर्ने विश्वास व्यक्त गरे।

लामिछानेले सम्पूर्ण युवा, नागरिक समाज तथा आम नागरिकलाई रचनात्मक खबरदारी गर्न र कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर गर्न आग्रह गरेका छन्।

आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिने गरी नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै उनले ऐतिहासिक यात्रामा सबै एकताबद्ध हुनुपर्ने बताए।

‘जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु,’ लामिछानेले भनेका छन्।

प्रतिक्रिया