काठमाडौं उपत्यकाका मासु पसलले मंसिर १ गतेभित्र अनिवार्य इजाजतपत्र लिनुपर्ने

nepalkuro.com

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु पसल वा पशु बधशाला सञ्चालन गर्न आगामी २०८३ मंसिर १ गतेभित्र अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने जनाएको छ।

नेपाल सरकारले २०८३ भदौ १ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा ‘पशु बधशाला र मासु जाँच ऐन, २०५५’ लागू हुने घोषणा गरेपछि महानगरपालिकाले यस्तो सूचना जारी गरेको हो।

सूचनाअनुसार पशु बधशाला स्थापना गर्न वा मासु बिक्री–वितरण गर्न चाहने व्यक्ति वा संस्थाले उक्त ऐनको दफा ५ तथा ‘पशु बधशाला र मासु जाँच नियमावली, २०५७’ को नियम ५ र ८ बमोजिम तोकिएका मापदण्ड पूरा गर्नुपर्नेछ।

सोही मापदण्डका आधारमा व्यवसायीले २०८३ मंसिर १ गतेभित्र औपचारिक रूपमा इजाजतपत्र लिइसक्नुपर्ने व्यवस्था गरिएको छ।

तोकिएको समयसीमाभित्र इजाजतपत्र नलिई वा नियमविपरीत मासु पसल सञ्चालन तथा मासु बिक्री–वितरण गरेको पाइएमा कडा कानुनी कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

ऐनको दफा १७ को उपदफा (२) बमोजिम अनुमतिबिना व्यवसाय सञ्चालन गरेमा १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना, तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ।

प्रतिक्रिया