देउवासँग भेट्न नपाएको गगनको गुनासो, कांग्रेसमा सहमतिको प्रयास अझै अन्योलमा

nepalkuro.com

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका समस्या समाधान र एकता कायम गर्ने प्रयासमा आफूले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट्न नपाएको गुनासो गरेका छन्।

सोमबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकलाई अन्तिममा सम्बोधन गर्दै थापाले देउवाको स्वकीय सचिव भानु देउवालाई चार पटकसम्म सम्पर्क गर्दा पनि भेट्ने वातावरण नबनेको बताएका हुन्।

बैठकमा सहभागी एक सदस्यका अनुसार भानुमार्फत भेट हुन नसकेपछि थापाले देउवा निकटका अन्य नेताहरूसँग समेत भेट र संवादको वातावरण मिलाइदिन आग्रह गरेका थिए। तर, उनीहरूमार्फत पनि देउवासँग भेट्न समय नपाएको थापाले बैठकमा गुनासो गरेका थिए।

‘पार्टीलाई मिलाउने तथा देखिएका समस्या समाधान गर्न पटक–पटक आफूले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्न चाहेको उहाँले बैठकमा बताउनुभयो,’ बैठकमा सहभागी एक नेताले भने, ‘भानु देउवालाई चार पटकसम्म सम्पर्क गर्दा पनि नभेटाएपछि उहाँ निकटका अन्य नेताहरूसँग कुरा गर्दा समेत भेट्ने समय नपाएको बताउनुभयो।’

सोमबारको बैठकमा थापाले पार्टीलाई एकताबद्ध बनाउने उद्देश्यले आफूले गरिरहेको पहलका विषयमा पनि जानकारी गराएका थिए। उनले पूर्णबहादुर खड्का र शेखर कोइरालालगायतका नेताहरूसँग संवाद गरेको र त्यसबाट विषय सकारात्मक दिशातर्फ अघि बढेको ब्रिफिङ गरेका थिए।

महाधिवेशनको मिति केही तलमाथि गरेर भए पनि सहमतिको वातावरण बनाउन आफू प्रयासरत रहेको थापाले बैठकमा बताएका थिए।

प्रदीप र गुरुराज सहमतिप्रति आशावादी देखिएनन्

बैठकमा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे भने सहमति कायम हुने विषयमा त्यति आशावादी नदेखिएको सहभागी नेताहरूले बताएका छन्।

महामन्त्री पौडेलले वडा अधिवेशनको मिति सारेर भए पनि सहमतिको प्रयास गर्नु सकारात्मक भए पनि असन्तुष्ट समूह सहमतिमा आउने विश्वास आफूलाई नरहेको धारणा राखेका थिए। उनले सहमतिको प्रयाससँगै महाधिवेशन प्रक्रियालाई नै अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

त्यस्तै, महामन्त्री गुरुराज घिमिरेले पनि सहमतिको प्रयास जारी राख्दै महाधिवेशनलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

कांग्रेसमा दुईवटा महाधिवेशन कार्यतालिका

एक वर्षअघि २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै आएको छ। गत पुसको अन्तिममा विशेष महाधिवेशन गर्दै गगन थापा पार्टी नेतृत्वमा स्थापित भएपछि कांग्रेसभित्रको विवाद थप सतहमा आएको हो।

त्यसपछि पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुगेको थियो। निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधता दिए पनि सर्वोच्चले पछिल्लो समय मुद्दा ‘दोहोर्‍याएर हेर्ने’ आदेश दिएपछि विवाद पूर्ण रूपमा टुंगिएको छैन।

हाल संस्थापन पक्षले असोज १९ भित्र पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका अघि सारेको छ। इतर तथा असन्तुष्ट समूहले भने असोज १५ बाट वडा अधिवेशन सुरु गरी मंसिर २३ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी छुट्टै कार्यतालिका प्रस्ताव गरेको छ।

यससँगै कांग्रेसभित्र अहिले दुईवटा महाधिवेशन कार्यतालिका अस्तित्वमा छन्। दुवै पक्षले महाधिवेशन सम्पन्न गर्ने दाबी गरिरहेका छन्। इतर समूहको नेतृत्व पूर्वमहामन्त्री शशांक कोइरालाले गरिरहेका छन्।

फरक–फरक महाधिवेशन कार्यतालिका र छुट्टाछुट्टै पार्टी गतिविधिका कारण कांग्रेसभित्रको विवाद गम्भीर बन्दै गएको छ। पार्टी औपचारिक विभाजनकै दिशातर्फ जाने हो कि सहमतिमार्फत विवाद समाधान हुने हो भन्ने विषयमा भने अझै अन्योल कायमै छ।

प्रतिक्रिया