जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
nepalkuro.com
२२ भदौ २०८३, सोमबार
पर्सा– जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार रहेका पर्साका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वा निवासी ३५ वर्षीय राजवा भन्ने अखिलेश साह तेली रहेका छन्। उनलाई इलाका प्रहरी कार्यालय भिस्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा आज दिउँसो करिब १ बजे आफ्नै घरबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लका अनुसार सरकार वादी रहेको जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतले साह तेलीलाई १० वर्ष कैद सजाय सुनाएको थियो।
अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर पर्सा जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।