भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी जवान कुँवरप्रति महानिरीक्षक पौडेलद्वारा श्रद्धाञ्जली

nepalkuro.com

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहका क्रममा भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको निवासमा पुगेर परिवारजनसँग भेट गर्दै समवेदना व्यक्त गरेका हुन्। सो अवसरमा उनले दिवङ्गत कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरे।

सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार महानिरीक्षक पौडेलले भोटेकोशी बाढीमा परी बेपत्ता भएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारजनसँग पनि भेट गरी सहानुभूति व्यक्त गरेका छन्।

महानिरीक्षक पौडेलले आशिष पौडेलसहित बाढीमा परी बेपत्ता भएका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको खोज तथा उद्धार कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्पष्ट पारे।

रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीमा परी सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी सम्पर्कविहीन भएका थिए। प्रहरीले बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि निरन्तर प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया