काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि स्याफ्रुबेँसीसम्मको सडक सम्पर्क र बेली ब्रिज निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएका छन्।
प्रभावित क्षेत्रको स्थलगत भ्रमणपछि बिहीबार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहलाई उद्धार, राहत र पुनर्स्थापनासम्बन्धी लिखित तथा मौखिक सुझाव प्रस्तुत गर्दै घिसिङले हेलिकप्टरमा मात्र निर्भर नरही सडकमार्फत आवश्यक उपकरण तथा सामग्री पुर्याउने व्यवस्था मिलाउन आग्रह गरेका हुन्।
बाढीका कारण सडक सम्पर्क विच्छेद हुँदा आवश्यक उपकरण प्रभावित क्षेत्रमा पुर्याउन ढिलाइ भइरहेको र हेलिकप्टरमार्फत सामग्री ढुवानी गर्नुपर्ने अवस्था रहेकाले उद्धार तथा पुनर्स्थापनामा कठिनाइ भएको उनले बताए।घिसिङले बालबालिका, महिला तथा वृद्धवृद्धाको स्वास्थ्य र सामाजिक सुरक्षाका लागि प्रभावकारी व्यवस्था मिलाउनुपर्नेमा पनि जोड दिएका छन्। बाढी प्रभावित बालबालिकालाई काठमाडौं ल्याएर सुरक्षित तथा व्यवस्थित रूपमा व्यवस्थापन गर्ने विषयमा समेत प्रधानमन्त्रीसँग छलफल भएको उनले जानकारी दिए।
त्यस्तै, नदी किनारमा मात्र नभई जोखिम मूल्याङ्कन गरी सुरक्षित स्थानमा सडक तथा अन्य पूर्वाधार निर्माण गर्नुपर्ने सुझाव घिसिङले दिएका छन्। क्षतिग्रस्त तथा निर्माणाधीन आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन र निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्न सरकारले विशेष राहत प्याकेज घोषणा गर्नुपर्ने उनको भनाइ छ।
मुलुक संकटमा परेको बेला राजनीतिक मतभेदभन्दा माथि उठेर सरकारलाई पूर्ण रूपमा सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता पनि घिसिङले जनाएका छन्।
भेटका क्रममा प्रधानमन्त्री शाहले नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएका थिए। प्रधानमन्त्रीसँग उद्धार, राहत तथा पुनर्स्थापनासँगै अन्य राजनीतिक विषयमा समेत सकारात्मक छलफल भएको घिसिङले जानकारी दिए।