रसुवामा आकस्मिक बाढीको वितण्डा : जलविद्युत् आयोजना, सडक र पुलमा ठूलो क्षति, विद्युत् आपूर्ति पूर्ण अवरुद्ध

nepalkuro.com

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याउनुका साथै जलविद्युत् आयोजना, सडक, पुल तथा विद्युत् आपूर्ति प्रणालीमा गम्भीर क्षति पुर्‍याएको छ।

नेपाल विद्युत् प्राधिकरणले आज अत्यन्त जरुरी सूचना जारी गर्दै बाढीबाट रसुवा क्षेत्रमा रहेका आफ्ना उत्पादन, प्रसारण तथा वितरण संरचनामा व्यापक क्षति पुगेको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत् आयोजना, त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ हब, २२० केभी सबस्टेसन, त्रिशूली तथा देविघाट जलविद्युत् केन्द्र लगायतका महत्वपूर्ण विद्युत् संरचनाहरू प्रभावित भएका छन्।

बाढीले आयोजनाका संरचनासँगै घर, सडक, पुल तथा विद्युत् वितरण प्रणालीमा समेत ठूलो क्षति पुर्‍याएको प्राधिकरणले जनाएको छ। विभिन्न संरचनामा क्षति पुगेपछि रसुवा क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ।

अचानक आएको बाढीका कारण केही स्थानमा ठूलो भौतिक क्षति हुनुका साथै सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी तथा सर्वसाधारण नागरिक प्रभावित भएका छन्। केही व्यक्ति बेपत्ता भएको विवरणसमेत प्राप्त भएको भन्दै प्राधिकरणले तत्काल खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्राधिकरणले प्राकृतिक विपत्तिबाट प्रभावित तथा बेपत्ता भएका नागरिकको तत्काल खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सबै सम्बन्धित पक्षलाई प्रभावकारी रूपमा परिचालन हुन अपिल गरेको छ।

बाढीबाट विद्युत् उत्पादन तथा प्रसारणका महत्वपूर्ण संरचनामा क्षति पुगेकाले विद्युत् आपूर्ति नियमित गर्न थप समय लाग्न सक्ने देखिएको छ। क्षतिको विस्तृत विवरण संकलन तथा प्रभावित संरचनाको अवस्थाबारे प्राविधिक मूल्याङ्कन भइरहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकको उद्धार तथा राहतलाई प्राथमिकतामा राख्दै विद्युत् संरचनाको सुरक्षाका लागि आवश्यक सावधानी अपनाउनसमेत आग्रह गरेको छ।

प्रतिक्रिया