धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा फेरि पहिरो खसेपछि मुग्लिन–नौबिसे सडकखण्ड तीन दिनदेखि अवरुद्ध छ । त्रिशूली नदीको बहाव बढेसँगै नदी किनारबाटै जमिन कटान भएपछि गत भदौ १४ गते कृष्णभीरमा पहिरो खसेको हो ।
पहिरोका कारण काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्कीलगायत पश्चिम नेपालका विभिन्न जिल्लातर्फ जाने–आउने सवारीसाधन प्रभावित भएका छन् । लामो समयदेखि सडक अवरुद्ध हुँदा यात्रु तथा व्यवसायीले सास्ती खेप्नुपरेको छ ।
कृष्णभीरमा पहिरो खसेर पृथ्वी राजमार्ग अवरुद्ध भएको यो पहिलोपटक भने होइन । करिब साढे दुई दशकअघि पनि यही क्षेत्रमा पटक–पटक पहिरो खस्दा राजमार्गमा आवागमन प्रभावित हुने गरेको थियो ।
२०५५/५६ सालतिर कृष्णभीरमा बारम्बार पहिरो खस्ने गरेको थियो । २०५० को दशकको अन्त्यतिर खसेको पहिरोका कारण यात्रु तथा सवारीसाधनले करिब दुई सातासम्म आवागमनको समस्या झेल्नुपरेको थियो ।
त्यसपछि २०६० सालमा कृष्णभीरमा पहिरो नियन्त्रणका लागि पर्खाल तथा अन्य संरचना निर्माण गरिएको थियो । ती संरचनाको आयु करिब २० वर्ष निर्धारण गरिएको थियो । निर्धारित आयु सकिएपछि अहिले कृष्णभीरमा फेरि पुरानै समस्या दोहोरिएको हो ।
यसपटक भने त्रिशूली नदीले सडकको सतहमुनिबाटै जमिन कटान गरेपछि पहिरो खसेको बताइएको छ । पहिरो खसेकै स्थानबाट तत्काल सडक पुनः सञ्चालनमा ल्याउन सहज देखिएको छैन ।
कुनैबेला कृष्णभीरकै नाममा गीत बने
कुनैबेला पृथ्वी राजमार्गमा यात्रा गर्नेहरूका लागि कृष्णभीर पार नगरेसम्म सुरक्षित रूपमा गन्तव्य पुगिने हो कि होइन भन्ने चिन्ता हुने गर्दथ्यो । पटक–पटक खस्ने पहिरोका कारण कृष्णभीर त्यसबेला निकै चर्चित थियो ।
कृष्णभीरको पहिरो र त्यसले यात्रुमा सिर्जना गर्ने त्रासलाई समेटेर गीतसमेत बनेका थिए ।
दिलीप रायमाझी र झरना थापा अभिनित चलचित्र ‘इन्द्रेणी’ मा ‘झर्यो, झर्यो, झर्यो कृष्णभीर... कृष्णभीर कटेसी छैन मनमा कुनै पिर’ भन्ने गीतमार्फत तत्कालीन अवस्थालाई चित्रण गरिएको थियो । २०६० सालमा प्रदर्शन भएको उक्त चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गीत गाएका थिए ।
त्यस्तै, कृष्णभीरकै पहिरोलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको अर्को गीत पनि बनेको थियो । कृष्ण देवकोटा, दुर्गा रायमाझी र शर्मिला गुरुङको स्वर रहेको उक्त गीतले पनि त्यतिबेलाको कृष्णभीरको अवस्थालाई चित्रण गरेको थियो ।
बीमाकुमारी दुरा र मिलन लामाको स्वरमा ‘कृष्णभीरमा जाम’ बोलको गीतसमेत सार्वजनिक भएको थियो ।
यसरी कुनैबेला पहिरोका कारण चर्चामा आएको कृष्णभीरमा दुई दशकपछि फेरि उस्तै समस्या दोहोरिएको छ ।
तत्काल मर्मत कि दीर्घकालीन समाधान ?
प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरी भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने दाबी गरेका छन् ।
तर, कृष्णभीरको भौगोलिक अवस्था र त्रिशूली नदीले गरिरहेको निरन्तर कटानलाई हेर्दा तत्काल सडक मर्मत गरेर मात्रै यहाँको समस्या दीर्घकालीन रूपमा समाधान हुनेमा प्रश्न उठेको छ ।
कतिपय प्राविधिकले कृष्णभीरको जोखिमलाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रलाई छाडेर वैकल्पिक रुट निर्माण गरी सडक सञ्चालन गर्नुपर्ने सुझावसमेत दिएका छन् ।
यसले कृष्णभीरको समस्या तत्काल सडक खुलाउने विषयमा मात्रै सीमित नरही दीर्घकालीन सडक सुरक्षा, नदी नियन्त्रण र वैकल्पिक मार्ग निर्माणको विषयसमेत बन्न पुगेको छ ।
अब सरकारसामु तत्काल राजमार्ग सञ्चालनमा ल्याउने चुनौतीसँगै कृष्णभीरमा पटक–पटक दोहोरिँदै आएको पहिरोको स्थायी समाधान खोज्ने जिम्मेवारीसमेत थपिएको छ ।