३१ जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम, नुवाकोट र रसुवामा उच्च सतर्कता

nepalkuro.com

काठमाडौँ — देशका विभिन्न ३१ जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले तीमध्ये अधिकांश क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार आइतबार पाँचथर, तेह्रथुम, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, ओखलढुङ्गा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक आसपासका स–साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्न सक्छ।

त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, गुल्मी, बर्दिया, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर आसपासका नदी तथा खोलामा पनि बहाव बढ्ने पूर्वानुमान गरिएको छ।

यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहेकाले नदी, खोला तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

तर नुवाकोट र रसुवामा भने जोखिम अझ उच्च रहेको छ। यी दुई जिल्लाबाट बहने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नुका साथै आकस्मिक बाढी आउन सक्ने सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ।

हालै भोटेकोशी बाढीबाट प्रभावित नुवाकोट र रसुवामा थप वर्षा तथा नदीको बहाव बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ।

महाशाखाले नदी तथा खोलानाला आसपास नजान, पानीको सतह बढेको अवस्थामा खोला तर्ने प्रयास नगर्न तथा सम्भावित जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

प्रतिक्रिया