काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले सञ्चारजगतलाई सरकार र मन्त्रीहरूले धम्क्याएको भन्दै आपत्ति जनाएका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद सिंहले गल्ती गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए। तर सञ्चारजगतलाई धम्क्याउने अधिकार सरकार र मन्त्रीहरूलाई कसले दिएको हो भन्दै उनले प्रश्न गरे।
उनले सरकार सञ्चारमाध्यमप्रति उत्तरदायी र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै प्रेस तथा सञ्चारजगतलाई धम्क्याउने प्रवृत्ति स्वीकार्य नहुने बताए।
सांसद सिंहले शिक्षा र स्वास्थ्य मन्त्रीले समेत सरकार सञ्चालनको गलत शैली अपनाइरहेको आरोप लगाए। उनले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै सुधार आवश्यक रहेको बताए।उनले संसद्प्रति सरकार उत्तरदायी हुन नसकेको भन्दै आलोचना गरे। जनप्रतिनिधिहरूले संसद्मार्फत उठाएका विषयमा सरकारले प्रभावकारी जवाफ दिन नसकेको उनको भनाइ थियो।